बेनी–जोमसोम सडक सास्ती र जोखिम

म्याग्दी । पहिरोका कारण मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकमा यात्रुलाई सास्ती हुन थालेको छ ।

सडकमा खस्ने पहिरोले सवारीसाधनमा क्षति पुग्ने, यात्रुलाई चोट लाग्ने र आवतजावत बन्द हुँदा जोखिम, झन्झट र सास्तीपूर्ण बनेको हो । 

७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा केही दिनयता दैनिक जसो यातायात अवरुद्ध हुने गरेको छ । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीका प्रमुख इन्द्र नेपालीका अनुसार जलेश्वर, राहुघाट, बैसरी, नौनीबगर, जलथले, रुप्से र काभ्रेभिरको पहिरोले बेनी–जोमसोम सडकमा यातायात सञ्चालनमा समस्या भएको हो । 

“कुन ठाउँमा कति बेला पहिरो खस्छ थाहै हुँदैन”, उहाँले भन्नुभयो, “खसेको पहिरो पन्छाउँदै सवारीसाधनलाई गन्तव्यमा पठाउँदै गरिएको छ ।” राहुघाटमा पहिरो खसेर सडक साँघुरिने र हिलोमा फस्ने समस्या छ । 

बैसरीमा सडक माथिबाट केही दिनयता निरन्तर पहिरो झरिरहेको छ । पहिरो खस्न रोकिएको समयमा सवारीसाधन पार गराउने गरिएको छ । अन्नपूर्ण गाउँपालिकाको नौनीबगर, जलथले, रुप्से र मुस्ताङको सिमानामा पर्ने काभ्रेभिरमा पनि पहिरोको समस्या छ । यात्रु समयमा गन्तव्यमा पुग्न सकेका छैनन् । बीच बाटेमै अलपत्र पर्नुपर्ने अथवा गाडी परिवर्तन गर्नुपर्ने समस्या छ ।  

जोमसोमबाट शनिवार बेनी आइपुग्न काठमाडौँका तीर्थ श्रेष्ठले पहिरोका कारण पुरै दिन लागेको बताउनुभयो । “अघिपछि जोमसोमबाट चार घण्टामै बेनी आइपुगिन्थ्यो”, उहाँले भन्नुभयो, “यसपालि पहिरोले बिहान ६ बजे हिँडेको साँझ ७ बजे मात्र बेनी आइपुगियो ।” 

राष्ट्रिय गौरवको कालीगण्डकी कोरीडोर अन्तरगत बेनी–जोमसोम सडक स्तरोन्नतिको क्रममा रहेको छ । मुस्ताङको घाँसा देखि जोमसोम खण्डको पुल नभएको ठाउँ बाहेकका ठाउँमा सहज यातायात सञ्चालन भइरहेको छ । 

भिरालो र कमजोर भूगोल भएको म्याग्दी खण्डमा विस्तार गरिएको सडक भत्किएर हिलाम्मे बनेको छ । कालोपत्र गर्ने तयार भएको सडक पनि पहिरोले साघुरिएको छ । कतिपय ठाउँमा ट्रक र ठुला बस एकतर्फी मात्र आवतजावत गर्न सक्छन् । 

बेनी–जोमसोम कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिले सडक विभाग र ठकेदार कम्पनीका डोजर लगायत उपकरणलाई तयारी अवस्थामा राखेर पहिरो पन्छाउने र यातायात सञ्चालन गर्ने गरिएको बताउनुभयो । 

म्याग्दीको रुप्सेबाट मुस्ताङको घाँसासम्मको खण्डमा धेरै पहिराको समस्या देखिएको उहाँको भनाइ छ । दुई वर्षअघिको बाढीले रुप्से र घाँसाको खहरे खोलामा निर्माणाधीन पुलको जगनै बगाएको थियो । बेगखोला र रुप्सेमा बाढी आउँदा सवारीसाधन आवतजावत गर्न सक्दैनन् । 

काठबेनीमा दिवङ्गत पितृलाई सोह्र श्राद्धमा पिण्ड दान र मुक्तिनाथ दर्शन गर्ने भक्तजनको चाप बढ्न थालेको छ । यसैगरी मुस्ताङ भ्रमणको याम पनि सुरु भएको छ । सडकको समस्याले मुस्ताङमा उत्पादन भएको स्याउ र आलुलगायत कृषि उपज निकासीमा समस्या भएको छ । रासस

प्रकाशित मिति : २ आश्विन २०७९, आइतबार  ९ : ०० बजे