जितिया पर्वले इमानदारितापूर्वक काम गर्न प्रेरणा प्रदान गर्ने : राष्ट्रपति 

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले जितिया पर्वजस्ता मौलिक चाडपर्वको माध्यमबाट भूगोल, जाति, भाषा र संस्कृतिका हिसाबले विविधतायुक्त नेपाली समाजमा आपसी सम्मान, सद्भाव र सहिष्णुताको भावना जागृत गर्दै बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

जितिया पर्वको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि शुभकामना व्यक्त गर्नुहुँदै राष्ट्रपति भण्डारीले एकातिर हामीले हाम्रा भौतिक तथा अभौतिक सांस्कृतिक सम्पदाहरूको संरक्षण र संवर्द्धन गर्नु आवश्यक छ भने अर्कोतिर प्रथा र परम्पराको नाममा समाजमा विद्यमान महिलाद्वेषी विभेदजन्य अभ्यासहरूलाई भने समय सापेक्ष सुधार गर्दै जानु पनि जरुरी छ भन्नुभयो  ।

उहाँले विधि र प्रक्रियापूर्वक इमानदारीका साथ गरिने कार्यबाट मात्र सार्थक परिणाम प्राप्त गर्न सकिन्छ भन्ने सन्देश बोकेको जितिया पर्वले हाम्रो व्यक्तिगत जीवन र राष्ट्रको जीवनमा समेत सकारात्मक परिवर्तन ल्याउनका लागि इमानदारितापूर्वक काम गर्न प्रेरणा प्रदान गर्ने बताउनुभयो  ।

जितिया पर्व विशेष गरी नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारु तथा मधेसी समुदायका महिलाहरूद्वारा आफ्ना सन्तानको दीर्घायु, सुस्वास्थ्य, प्रगति एवं पारिवारिक सुखशान्तिका लागि लोक देवता जिमुतवाहनको आराधना गर्दै उत्साहका साथ  मनाइने पर्व हो । 

यस पर्वको अवसरमा आश्विन कृष्णपक्षको अष्टमी तिथिका दिन थारु तथा मधेसी महिलाहरू कठोर व्रत बस्ने गर्दछन् । यस पर्वमा शरीर, मन र आत्मा शुद्धि गर्दै विभिन्न परिकारहरू खाने र खुवाउने प्रचलन परापूर्वकालदेखि चल्दै आएको छ । 

 

 

 

प्रकाशित मिति : २ आश्विन २०७९, आइतबार  ७ : ३८ बजे