समानुपातिक तर्फका उम्मेदवारको नामावली तयार गर्न एमाले सचिवालय बैठक आज पुनः बस्दै

काठमाडौँ । आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिक तर्फको उम्मेदवारको नामावली तयार गर्न नेकपा (एमाले)को सचिवालय बैठक आज पनि बस्दै छ । 

शनिवार साँझ पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बसेको बैठकले समानुपातिक तर्फको उम्मेदवारको नामावली आज बिहान ११ बजे पुनः बस्ने बैठकले निर्णय गर्ने तय गरेको थियो । 

शनिवार बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै एमाले प्रचार विभागका उपप्रमुख पृथ्वी सुब्बा गुरुङले निर्वाचन आयोगको निर्देशिकाअनुसार समानुपातिक उम्मेदवार छनोटका आधारबारे पार्टी महासचिव शङ्कर पोखरेलले बैठकलाई जानकारी गराउनुभएको बताउनुभयो । 

बैठकमा सङ्घीयतर्फ एक सय १० र प्रदेशतर्फ दुई सय २० उम्मेदवारको सूची बनाउन विभिन्न मापदण्ड बनाउने, समावेशितालाई ध्यानमा राखेर क्लस्टरवाइज ध्यान दिँदै मापदण्ड बनाउने बारे छलफल भएको उहाँले बताउनुभयो । 

त्यस्तै शनिवारको बैठकले बाढी पहिरोका कारण अछाम जिल्लामा भएको जनधनका क्षतिका बारेमा छलफल गर्दै सरकारलाई तत्काल उद्धार तथा राहतको व्यवस्था गर्न माग गर्ने निर्णय गरेको थियो ।  

आगामी मङ्सिर मङ्सिर ४ गतेका लागि तय भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन प्रक्रिया आजबाट सुरु हुँदै छ ।  

आज र भोलि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्द सूची पेस गर्नुपर्ने कार्य तालिका निर्वाचन आयोगको छ । 

 

 

 

 

प्रकाशित मिति : २ आश्विन २०७९, आइतबार  ७ : २३ बजे