वर्षापछि कैलालीको पूर्वी क्षेत्रका बस्ती डुबानमा

धनगढी । बिहीबार देखिको वर्षाका कारण  कैलालीको पूर्वी क्षेत्र डुबानमा परेको छ ।  

बाढीले बस्ती डुबानमा परेका छन् । वर्षाका कारण कान्द्रा, मोहना नदीका साथै स–साना नदीको बहाव बढेपछि त्यस क्षेत्रका बस्तीहरू डुबानमा परेको कैलाली प्रहरीले जनाएको छ ।

कैलालीको  भजनी नगरपालिका वडा नम्बर ८ स्थित पथरैया नदीको पानीको सतह बढेर सोनाफाटा टोल, दैलेखी टोल, भरतान टोल, जनकपुर टोल र छछरहवा टोलका एक सय ६० घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ। 

यस्तै सोही नगरपालिका वडा नम्बर–५ स्थित कान्द्रा नदीको बाढीले मिलनपुर टोल, लालबोझी र पुलियापुर टोलका दुई सय ५० घर  डुबानमा परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताउनुभयो। 

यस्तै कुटी गाउँ, वडा नम्बर ७ शिविर टोल, गणेशमान टोल र दक्षिण पूर्वी टोलका दुई सय ५० घर डुबानमा परेको बताइएको छ। डुबानमा मानवीय  क्षति भने नभएको प्रहरीले बताएको छ। नदीको बहाव बढ्ने क्रम जारी रहेकाले सतर्क रहन आग्रह गरिएको छ। 

कैलालीको चुरे गाउँपालिका वडा नम्बर ६ बालकोट स्थित भिमदत्त राजमार्गमा अविरल वर्षाका कारण माथिबाट पहिरो खस्न गई बाटो अवरोध भएको छ ।

प्रहरी निरीक्षक धर्म सिंह विष्टको कमाण्डमा छ जनाको प्रहरी टोलीले अवरुद्ध बाटो खोल्ने प्रयास गरिरहेको जनाइएको छ । पहिरोले बाटो अवरुद्ध गर्दा सानो ठुलो गरी ९/१० वटा गाडी रोकिएको कैलाली प्रहरी प्रवक्ता जोशीले बताउनुभयो ।

भिमदत्त राजमार्गको अन्य  ४/५ स्थानमा पनि सा–साना पहिरो गई सडक अवरोध भएको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : १ आश्विन २०७९, शनिबार  ९ : ५३ बजे