‘एउटै नाउरको सिकार गर्न २३ लाख’

विज्ञान दिवस र समृद्ध नेपालको सपना   

दसौँ राष्ट्रिय विज्ञान दिवस असोज १ गतेका दिन अर्थात् आज ‘विज्ञान र प्रविधिमा लगानीको विस्तार, समुन्नति र  समृद्धिको आधार’ भन्ने आदर्श नाराका साथ मनाउँदै छौँ । 

हामी वर्षको एक दिन मात्र भए पनि आफ्ना लेखहरूमा, सरकारी स्तरबाट हुने कार्यक्रमका भाषणहरूमा विज्ञान, प्रविधि र नवप्रवर्तनको खाँचो रहेको, यो क्षत्रमा लगानी बढाउनुपर्ने, जनशक्ति उत्पादन गर्ने भनेर आना विचारहरू प्रकट गर्दछौँ । हुन पनि हो ढिलै भए पनि हामीलाई यो कुराको बोध भएको हो भने राम्रै कुरा हो । हरेक देशको उन्नति र विकासमा विज्ञान र प्राविधिक शिक्षाको ठुलो महत्त्व रहँदै आएको छ । 

मानव सभ्यताको विकासको क्रममा जीवनलाई सहज बनाउन आफूले भोगेका अनुभव र प्रयोगबाट बिस्तारै बिस्तारै प्रविधिहरूको विकास हुँदै आयो । नयाँ नयाँ ज्ञान विज्ञानका अनुभव र सीपहरूलाई नयाँ पुस्तामा हस्तान्तरण गर्नका लागि तिनलाई साङ्केतिक रूपमा र पछिबाट क्रमशः लिपिहरूको विकास हुँदै जाँदा अभिलेखीकरणको कार्य आरम्भ भयो ।

त्यसैको फलस्वरूप आज हामी हाम्रा पुर्खाका ज्ञान, विज्ञान र सीपका कुराहरूलाई पढ्न र बुझ्न सक्दछौँ । विज्ञान प्रविधिका विभिन्न आयामहरूलाई समेटिएका हाम्रा पुर्खाहरूले जगेर्ना गरेका मौलिक कुराहरूलाई संरक्षण गर्दै, स्तरोन्नति गर्दै लैजाने र तिनको माध्यमबाट विभिन्न क्षेत्रमा व्यवसायीकरण गर्न सकिएमा आर्थिक उन्नतिमा उल्लेखनीय भूमिका निर्वाह गर्न सक्दछ ।

नेपालमा औपचारिक रूपमा विज्ञान शिक्षाले स्थान पाएको बल्ल सय वर्ष पुगेको छ । तत्कालीन त्रिभुवन चन्द्र कलेजमा वि. सं. १९७६ सालबाट विज्ञान विषयमा प्रवीणता प्रमाणपत्र तहको अध्ययन अध्यापन सुरु भएको पाइन्छ र स्नातक तहको पढाई वि. सं. २००४ सालबाट सोही कलेजमा सुरु भएको थियो । संसारका विकसित देशहरूको विज्ञान शिक्षाको इतिहासलाई अध्ययन गर्ने हो भने कैयौँ वर्ष पुराना विश्वविद्यालयहरू र तिनैमा प्राप्त गरेको ज्ञान विज्ञान र प्रविधिले आधारभूत संरचनागत विकाससँगै आधुनिक शिक्षाको तहसम्म मार्ग निर्देशन गरेको छ । त्यस हिसाबले भन्ने हो भने हाम्रो देशको उच्च शिक्षाको इतिहास जम्मा १०० वर्ष पुरानो भन्न सकिन्छ र विश्वविद्यालयको इतिहास जम्मा ६ दशक हाराहारीको छ । विज्ञान प्रविधि नीति देशको आवश्यकतालाई बोध गरेर बनाउने हो र कार्यान्वयनमा लैजाने हो भने ढिलै भए पनि हामीले गति समात्न सक्नेछौँ र अगाडि बढ्न सक्छौँ ।

थोरै ऐतिहासिक पृष्ठभूमिको उल्लेख गर्दा सन् १९९९ को जून २६ देखि जुलाई १ सम्म हेङ्गेरीको बुडापेस्टमा संयुक्त राष्ट्र सङ्घको आह्वानमा यूनेस्कोले आयोजना गरेको विश्व विज्ञान सम्मेलनबाट आ–आनै प्रकारले देशहरूले आफ्नो तजबिज र देशका महत्त्वपूर्ण दिनहरू सम्झिएर विज्ञान दिवस मनाउन उत्प्रेरित बनाएको मान्न सकिन्छ । त्यो सम्मेलनको उद्देश्य विज्ञान प्रविधिलाई जहाँ जून अवस्थामा सिर्जित भएको भए तापनि मानव कल्याण र मानवताको लागि आदानप्रदान गर्नुपर्छ भन्ने नै थियो । 

हरेक वर्षको नोभेम्बर १० को दिनलाई विश्व विज्ञान दिवसको रूपमा मनाइरहँदा नयाँ उत्पन्न तथा भए गरेका विज्ञानका विषयहरूलाई आम जनसमक्ष ल्याएर चर्चा गरिनु आवश्यक छ भन्ने भनाइलाई मध्यनजर गर्दै हामीले हाम्रो विज्ञान इतिहासको पक्षलाई केलाएर असोज १ गते राष्ट्रिय विज्ञान दिवस मनाउँदा खुला मन बनाएर वृहत् छलफल गरिनु आवश्यक छ । 

हुन त वि.सं. २०७० असोज १ बाट विज्ञान दिवस मनाउन सुरु गरिएको सन्दर्भमा हाम्रा अग्रज नेपाली रसायन शास्त्री अमृतप्रसाद प्रधानको अगुवाइमा विज्ञान विषय मात्रै पढाइ हुने गरेर पब्लिक साइन्स कलेज वि.सं. २०१३ असोज १ बाट खुलेको थियो । उक्त कलेजका प्राचार्य (प्रिन्सिपल) अमृतप्रसाद प्रधान एउटा कार्यक्रममा भाग लिन अमेरिकाको न्यूयोर्क जाने क्रममा भारतको बम्बईबाट उडेको एअर इन्डियाको विमान १०१ स्वीजरल्याण्ड हुँदै उड्दै गर्दा युरोपको आल्पस पर्वत मोन्ट बलाड्ढमा वि. सं. २०२२ माघ ११ का दिन दुर्घटनाग्रस्त हुँदा दिवड्डगत हुनुभएको थियो । 

सो विमानमा भारतका प्रख्यात परमाणु वैज्ञानिक होमी जहांगिर भाभा पनि सवार हुनुहुन्थ्यो । सो विमान दुर्घटनामा १७० जनाको निधन भएको थियो । उक्त विमान दुर्घटनालाई लिएर थुप्रै आशङ्काहरू पनि व्यक्त गरिए र कसैले त भारतको आणविक कार्यक्रम असफल पार्ने षडयन्त्रको रूपमा पनि चित्रित गरेका छन् । झन्डै ६ दशक पूरा हुन लागेको उक्त दुर्घटना अझै पनि समय समयमा चर्चामा आउने गरेको छ । 

सोही विमानमा नेपालका विज्ञानका नक्षेत्र अमृतप्रसाद प्रधानको निधन भएबाट राष्ट्रले विज्ञानको क्षेत्रमा ठुलो धक्का सहनु पर्‍यो । नेपालमा विज्ञान शिक्षा धेरै पहिलेदेखि त्रिभुवन चन्द्र कलेज (पछिबाट त्रिचन्द्र कलेज) मा हुँदै आएको हो । तर राष्ट्रिय विज्ञान दिवस पब्लिक साइन्स कलेजको स्थापना दिवसलाई पारेर मनाउन थालियो । प्राचार्य प्रधानको निधन पश्चात् उक्त कलेजको नाम परिवर्तन गरी अमृत साइन्स कलेज राखियो, जसलाई छोटकरीमा अहिले अस्कल भनेर जानिन्छ । असोज १ गतेको दिनमा राष्ट्रलाई विज्ञान र प्रविधिको महत्त्व बुझाउन पहल गर्ने एक वैज्ञानिकको सम्मान र सम्झना गर्ने दिनका रूपमा ग्रहण गरिएको छ ।

आज दसौँ विज्ञान दिवस मनाइरहँदा नेपालमा विज्ञान–प्रविधिको गहिरो समीक्षा हुनु आवश्यक छ । हाम्रा विश्वविद्यालयहरू, पठनपाठन, पाठ्यक्रम, प्रयोगशालाहरू तथा अनुसन्धानको पाटो यी सबै विषयहरूमा खुला बहस को माग गर्दछ । नेपाल सरकारले विज्ञान प्रविधिको पाटोलाई कसरी बुझेको छ र देशलाई अग्रगामी दिशामा अघि बढाउन के कस्ता नीति तथा कार्यक्रमहरू ल्याएको छ र बजेट कति र कसरी विनियोजन गरिएको छ यो सबै कुरा जनसमक्ष आउनुपर्दछ  ।

देश विकासको लागि नभै नहुने प्राविधिक जनशक्ति उत्पादन गर्न विज्ञान शिक्षाको अति नै महत्त्व भएको कुरा स्थापित सत्य हो । यो कुनै दिन विशेषमा मात्र सम्झिने र चर्चा गर्ने विषय नभएर वर्षै भरि अन्योन्याश्रित हिसाबले गाँसिएको विषय हो । जनमानसमा विज्ञान प्रविधिको महत्त्व स्थापित गर्नका लागि र छलफलको मुख्य विषय बनाउनको लागि राष्ट्रिय विज्ञान दिवस मनाउने क्रममा नौ वर्ष भर्खर पार गरिएको छ । 

हाम्रै छिमेकी देश भारतका वैज्ञानिकहरूले विश्व प्रतिष्ठित पुरस्कार प्राप्त गरेर संसारभर यश फैलाइरहँदा त्यहीँ भारतका भौतिक शास्त्री सी भी रमणले सन् १९२८ मा नोबेल पुरस्कार प्राप्त गरेको दिन फेब्रुअरी २८, लाई राष्ट्रिय विज्ञान दिवसको रूपमा मनाउने गरेको छ । 

हङ्गेरीको विश्व विज्ञान सम्मेलन भन्दा धेरै पहिला १९८७ बाट भारतमा राष्ट्रिय विज्ञान दिवस मनाउन थालिएको हो । राम्रो काम गर्न कहिले पनि ढिलो नहुने हुँदा हामी पनि निरन्तर मनाउँदै छौँ र यस क्षेत्रमा भए गरेका कामहरू, हाम्रा अवस्थाहरूको यस अवसरमा वस्तुगत समीक्षाको पनि अपेक्षा गरिनु स्वाभाविकै हो ।

देशमा रहेका प्राकृतिक श्रोत साधनहरूको पहिचान गरी त्यसमा अनुसन्धान गरी खास तथ्यहरू पत्ता लगाएर राष्ट्रलाई उच्चतम प्रतिफल दिन भनेर खोलिएका विज्ञान प्रविधि सम्बन्धी अनुसन्धान केन्द्रहरू, अध्ययन संस्थानहरू, विश्वविद्यालयहरू खोलिएका हुन्छन् । विश्वविद्यालयहरू वा यस्तै संस्थानहरू खोलिनु राम्रै देखिएता पनि अहिले विना कुनै तैयारी धमाधम उच्च शैक्षिक संस्थाहरू खोलिँदै गरेको, भवनहरू बहाल (भाडा) मा लिएर कार्यालयहरू स्थापना गरिँदै गरिएको अवस्था छ । 

दलगत राजनीतिमा लागेर उच्च तहमा पुगेका राजनीतिकर्मीहरूलाई विभिन्न किसिमले रिझाएका नाता पर्ने मानिसहरूको नियुक्ति पनि भइराखेको समाचारहरू हामीलाई सामान्य लाग्न थालेका छन् । वैज्ञानिक अनुसन्धानको लागि भनेर खोलिएका संस्थाहरू रुग्ण बन्दै गइराखेका छन् । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को भूमिका उल्लेख्य बन्न सकिराखेको छैन । कोरोना कालमै पनि हात निर्मलीकरण गर्ने झोल (स्यानिटाइजर) र अक्सिजन भण्डारण गर्ने सिलिन्डर बनाएको (?) महसुस गर्न सकेको स्थिति छैन । केही परिणाममुखी कार्य गर्न वैज्ञानिकहरूलाई वृत्ति विकास र बढुवाबाट वञ्चित बनाइएको अवस्था छ । 

त्यसैगरी देशको सबैभन्दा पुरानो र अत्यधिक भार वहन गरिराखेको छ दशक पहिलेबाटै विज्ञानका विभिन्न विषयहरूको पढाइ भएको त्रिभुवन विश्वविद्यालयको व्यवहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र (रिकास्ट),त्रिविका केन्द्रीय विभागहरू तथा क्याम्पस स्तरका प्रयोगशालाहरू पनि आवश्यक संसाधनको कमीले गर्दा रुग्ण बन्दै गइराखेका छन् भन्दा अत्युक्ति नहोला । विज्ञान दिवस मनाइँदै गर्दा यी विषयहरूमा ध्यान दिन सकिएन र सरकारको तर्फबाट उचित ध्यान दिइएन भने यस्ता दिवसहरू कर्मकाण्डी मात्र बन्न जाने कुरामा शङ्का छैन ।

नेपालमा नयाँ खुलेका विश्वविद्यालयहरूले स्थानीय आवश्यकतालाई ध्यानमा राखेर नयाँ किसिमका शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्नुपर्दछ, तर अधिकांशमा उही त्रिभुवन विश्वविद्यालयमा सञ्चालनमा रहेका कार्यक्रमहरू नै सञ्चालन गर्ने भएपछि नयाँ खुलेका विश्वविद्यालयहरूले विद्यार्थी र अभिभावकहरूको उल्लास मनका साथ विश्वास प्राप्त गर्न सकेको देखिँदैन । 

नेपाल र विश्वमा चाहिएका, मागहरू भएका विषयहरू समेटेर नयाँ नयाँ कार्यक्रमहरू सञ्चालन गर्दा सरकारी अनुदानमा मात्रै निर्भर नरही आफ्नो छुट्टै प्रकारले आर्थिक जोहो गर्न सक्ने पनि मेसो मिल्न सक्थ्यो । खासमा भन्नुपर्दा नेपाल सरकारले नयाँ विश्वविद्यालयहरूलाई पनि त्रिविका समानान्तर संस्थाको रूपमा उभ्याउन खोजेको प्रतीत हुनु राम्रो मान्न सकिँदैन । 

राष्ट्रलाई चाहिएको दक्ष जनशक्ति उत्पादनमा नयाँ खुलेका शिक्षण संस्थाहरूले एक्काइसौँ शताब्दीको मागलाई पूरा गर्ने गरी कार्यक्रम र पाठ्यक्रम ल्याउन नसक्ने हो भने बेरोजगार उत्पादन गर्ने संस्थाको रूपमा नगनिएलान् भन्न सकिन्न ।  जसबाट आशातीत सफलता प्राप्त हुने कुरामा पर्याप्त आशङ्का उत्पन्न भएको छ ।

हाम्रा विज्ञान सम्बन्धी विभिन्न शैक्षिक संस्थाहरू स्तरोन्नतिमा लाग्नुको विकल्प छैन । यसको लागि चाहिने जनशक्ति र बजेटको कुरामा सरोकारवाला पक्षले पन्छिन मिल्दैन । अहिले शैक्षिक संस्थाहरूलाई दक्ष जनशक्ति चाहिएको छ तर आवश्यक तालिम र ज्ञान लिएर स्वदेश फर्किआएका, विद्यावारिधि गरेका जनशक्तिलाई हाम्रा विश्वविद्यालयहरूले र नेपाल सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चिन्न सकेको छैन । 

यसले दुई किसिमले राष्ट्रलाई घाटा भइरहेको छ, एकातिर दक्ष जनशक्ति भनौँ विज्ञको अभावले पठनपाठन र अनुसन्धान, समस्याको सम्बोधन हुन नसकेर नोक्सानी भइराखेको छ भने अर्कोतिर व्यक्ति स्वयंलाई आफ्नै राष्ट्रले योग्य व्यक्ति भनेर चिन्ने वातावरण नबन्दा देशप्रति नै निराशा उत्पन्न भई सधैँका लागि विदेशतिर पलायन हुने खतरा बढिराखेको छ ।

नेपाली विश्वविद्यालयहरू तथा अनुसन्धान केन्द्रहरूमा अनुसन्धानको स्तर उकास्नको लागि सरकारको तर्फबाट केही उल्लेख्य लगानी हुनु आवश्यक छ । यो लगानी विभिन्न किसिमको हुन सक्दछ । नेपाल सरकारले विज्ञान कूटनीतिमार्फत विज्ञान र प्रविधिको क्षेत्रमा नयाँ लगानी भित्र्याउन विशेष रणनीति बनाउनुपर्दछ । विदेशका नाम चलेका वैज्ञानिक संस्थाहरूसित वैज्ञानिकहरू आदानप्रदान कार्यक्रम सञ्चालनको लागि समझदारी गर्नु आवश्यक छ । 

नेपालका विभिन्न देशहरूमा रहेका राजदूतावासहरूलाई यस कार्यमा सहजीकरणको लागि पहल लिन लगाउनु पर्दछ । हाम्रा राजदूतहरूले यस कार्यमा सहयोग त गर्न सक्ने स्थानमा छन् तर उनीहरूको नियुक्ति कुन आधारमा हुन्छ र विज्ञान प्रविधिको महत्त्वलाई कुन तहसम्म बुझ्न सक्दछन् भन्ने कुरा मुख्य हुन जान्छन् । विज्ञान प्रविधिको क्षेत्रमा केही सहयोगहरू प्राप्त हुन सक्छन् । 

विज्ञान कूटनीतिको माध्यमबाट नेपाली जनशक्तिको ज्ञान र सीप अभिवृद्धि र उत्पादनमा विज्ञान कूटनीतिको माध्यमबाट ठुलो सहयोग जुट्न सक्दछ । बिदेसिएका प्राज्ञिक व्यक्तिहरू सबै र खास गरी वैज्ञानिक र अनुसन्धानविद्हरूलाई नेपाल भित्र्याउने, विदेशी वैज्ञानिकहरूको सहकार्यमा पनि अनुसन्धान कार्यलाई अगाडि बढाउन राजदूतावास मार्फत सम्बन्धित देशका शिक्षण संस्थाहरूमा पहल गर्न सक्ने उच्च स्तरका बौद्धिक व्यक्तित्वहरूले नेतृत्व गर्ने अवस्थामा मात्र विज्ञान कूटनीतिले सार्थकता पाउने छ र विज्ञान र प्रविधिमा लगानीको विस्तार: समुन्नति र समृद्धिको आधार भन्ने दशौँ राष्ट्रिय विज्ञान दिवसको नारा सार्थक हुन सक्नेछ । सम्पूर्ण विज्ञान कर्मीलाई प्रोत्साहित गरी प्रेरणा दिन विज्ञान दिवस सफल होस् यही शुभकामना छ ।

(डा. शर्मा भुसाल रसायन शास्त्र केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक हुनुहुन्छ ।) 

 

प्रकाशित मिति : १ आश्विन २०७९, शनिबार  ९ : ०२ बजे