संविधान दिवसका अवसरमा उपत्यकामा एमालेको वाकथन (पदयात्रा) कार्यक्रम 

काठमाडौँ । नेकपा (एमाले)ले संविधान दिवसलाई राष्ट्रिय दिवसका रूपमा मनाउन आज असोज १ गते उपत्यकामा वाकथन(पदयात्रा) कार्यक्रम आयोजना गरेको छ । 

पदयात्राको नेतृत्व पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्नुहुने छ । 

उपत्यकाका विभिन्न पाँच ठाउँ नयाँ बानेश्वर, मैतीदेवी, लैनचौर, कालीमाटी र ललितपुरको कुपण्डोलबाट बिहान ७ बजे हजारौँ मानिसहरूको सहभागितामा पदयात्रा सुरु हुने छ । 

सबैतिरका पदयात्रा शहीद गेटमा मिसिई वसन्तपुर पुगेर विसर्जन गर्ने कार्यक्रम तय गरिएको छ ।

अध्यक्ष ओलीले नयाँ बानेश्वरबाट सुरु हुने पदयात्राको नेतृत्व गर्नुहुने छ । महासचिव शङ्कर पोखरेल बानेश्वरबाट सुरु हुने पदयात्रामा सहभागी हुनुहुने छ । पाँचै ठाउँका पदयात्रामा  पार्टीका पदाधिकारी तथा केन्द्रीय नेताहरूले नेतृत्व गर्नुहुने छ । 

लैनचौरबाट सुरु हुने पदयात्राको नेतृत्व वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गर्नुहुने छ भने मैतीदेवीमा उपाध्यक्ष द्वय रामबहादुर थापा ‘बादल’ र सुवास नेम्वाङ,  कुपन्डोलबाट उपाध्यक्ष विष्णुप्रसाद पौडेल र कालीमाटीबाट सुरु हुने पदयात्राको नेतृत्व उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले गर्नुहुने छ । अन्य नेताहरू, सांसदहरू पाँच वटा प्वाइन्टमध्ये आफूलाई पायक पर्ने ठाउँमा सहभागी हुनुहुने छ ।

सबै टोली शहीद गेट पुगेपछि अध्यक्ष ओलीको नेतृत्वमा पदयात्रा बसन्तपुरतर्फ प्रस्थान गर्ने गरी कार्यक्रम तय गरिएको नेकपा(एमाले) स्थायी कमिटीका सदस्य जनसङ्गठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले जनाकारी दिनुभयो । 

पदयात्रा टोली वसन्तपुरमा पुगेपछि अध्यक्ष ओलीले संक्षिप्त सम्बोधन गर्नुभएपछि  कार्यक्रम समापन गरिने छ । 

संविधान दिवस साझा राष्ट्रिय दिवस भएकाले यस कार्यक्रममा पार्टीको झण्डा, ब्यानर बोकिने छैन । पदयात्रामा समाजका विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तिहरू, पेसा, व्यवसायमा संलग्न  आम जनसमुदायको सहभागिताको अपेक्षा गरिएको छ ।

संविधान निर्माण, यसको कार्यान्वयन, संरक्षण र संवर्द्धनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको एमालेले संविधान जारी गर्दा र कार्यान्वयनका चरणमा भोग्नुपरेका कठिनाइलाई समेत स्मरण गर्दै संविधानप्रति आम नागरिकको अपनत्व बढाउने र संविधान दिवसलाई राष्ट्रिय दिवसका रूपमा मनाउने परम्परालाई विशेष महत्त्व दिन चाहेको छ । 

त्यसैले राष्ट्रिय दिवसको यस कार्यक्रमलाई एमालेले पार्टी पङ्तिमा सीमित नराखी यसको दायरा फराकिलो बनाएको हो । 

‘सात दशक लामो सङ्घर्ष र त्यसबाट प्राप्त सफलता, सफलताको  संश्लेषण– संविधान र लोकतान्त्रिक गणतन्त्र’ यही नाराका साथ फरक शैलीमा मनाउन लागिएको संविधान दिवस– ‘वाकथन’ कार्यक्रममा   सहभागी भई राष्ट्रिय दिवस सँगसँगै मनाउन एमालेले सबैलाई आह्वान गरेको छ ।

निर्वाचन आयोगले संविधान जारी भएको दिन असोज ३ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फका उम्मेदवारको बन्द सूची पेस गर्ने मिति तोकेकाले एमालेले यो कार्यक्रम असोज १ गतेलाई तय गरेको हो । 

२०७२ साल असोज ३ गते संविधान सभाबाट ‘नेपालको संविधान–२०७२’ जारी भएको हो । संविधान जारी भएको सात वर्ष पूरा भएको र यसबर्ष आठौँ संविधान दिवस मनाइँदै छ ।  

 

 

प्रकाशित मिति : १ आश्विन २०७९, शनिबार  ७ : ११ बजे