एमालेको जागरणसभामा जे देखियो…

एमालेको जागरणसभामा जे देखियो…

अन्तर्वार्ता : माओवादी राजनीतिक रुपमा स्खलित हुँदै गएकोले छाडेँ र एमाले बनेँ :  यमबहादुर परियार 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अति नजिक सहयोगी भएर जिल्लामा काम गर्नुभएका नेता यमबहादुर परियारले बिहीबार पार्टी परित्याग गरी एमाले प्रवेश गर्नुभयाे। पार्टी अध्यक्ष प्रचण्डको गृहजिल्ला मात्रै नभई उनकै निर्वाचन क्षेत्रका प्रभावशाली केन्द्रीय सदस्य एवम् चितवन जिल्ला इन्चार्ज परियार र भरतपुर महानगरपालिकाका सहइन्चार्ज अन्जान तिमिल्सिनाले माओवादी परित्याग गर्नुभएकाे हाे ।  

भरतपुर महानगरपालिकाको माओवादी केन्द्रको सबैभन्दा बलियो वडा मानिएको वडा नं. १३ का वासिन्दा हुन परियार, तिमिल्सिना वडा नं. १६ का बासिन्दा हुनुहुन्छ। प्रचण्डका नजिकको विश्वास पात्र मानिने परियारको एमाले प्रवेशले चुनावको मुखैमा माओवादी केन्द्रलाई ठूलो धक्का लागेको छ । परियार प्रचण्डको निर्वाचन क्षेत्र चितवन ३ को (ख) बाट प्रत्यक्षमा प्रदेश सांसदका लागि सिफारिस हुनुभएकाे छ । माओवादीको भागमा यो क्षेत्र परे परियार नै सबैभन्दा बलिया दाबेदार हुनुहुन्थ्याे। निर्वाचनको मुखमा नै प्रचण्डकै निर्वाचन क्षेत्रबाट पार्टी त्याग गरेका परियारसँग हामीले कुराकानी गरेका छौँ । 

माओवादीमा त्यति लामो त्याग र बलिदान गरेको मान्छेले एकाएक माओवादी पार्टी किन छाड्नु भएको हो ? 

माओवादी पार्टीमा हामी जुन सपना र दृष्टिकोण राखेर लागेका थियौं, त्यो अनुसार पार्टी रहेन । माओवादी राष्ट्रिय राजनीतिमा विघटनको प्रक्रियामा छ । देशमा दुईवटा ठूला कम्युनिष्ट पार्टी हुन जरुरी छैन । माओवादी भन्दा ठूलो कम्युनिष्ट पार्टी एमाले नै छ भनेपछि माओवादीको औचित्य के छ ? जबकी सांगठनिक संरचना, नीति सबै एमालेकै कपी गरेको छ ।  माओवादीको आफ्नो एजेण्डा छैन ।

कम्युनिष्ट चरित्र पनि माओावादीसँग छैन । राष्ट्रिय राजनीतिका सन्दर्भमा देश विकास र समृद्धिको स्पष्ट भिजन देखेँ । माओवादी नेतृत्वको भनाइ र गराईमा असंगति छ । एउटा कुरा भनिन्छ गरिन्छ अर्को । कांग्रेसको पछि लागेर समाजवादमा पुगिन्छ त ? यस्तो पाराले समाजवादमा जान सकिँदैन । माओवादी भित्र संर्घष पनि गरेको हो, तर सकिएन । अब माओवादी सुध्रिदैन,  योबाट पार लाग्दैन भनेर एमाले प्रवेश गरेका हौं  यो कुनै एक दुई दिनको कुरा हैन । यसको लामो श्रृखला छ । 

तपाईं प्रदेशको टिकट नपाउने भएपछि एमाले प्रवेश गरेको भन्ने आरोप छ नि ?

यो सरासर गलत कुरा हो । जसले मलाई चिनेको छैन, बुझेको छैन त्यसले भन्ने कुरा हुन् यि । अझै पनि प्रचण्डको निर्वाचन क्षेत्रको प्रदेश क्षेत्र माओवादीले नपाउने भन्ने त निर्णय त भएको छैन । टिकट पाउँदा त त्यसको पहिलो दाबेदार मै थिएँ । तर, मलाई यस्ता कुराले प्रभाव पार्दैन । म पदका लागि एमाले बनेको हैन । 

तपाईंको एमाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई धक्का लागेको भनिन्छ, के भन्नुहुन्छ ? 

त्यो उहाँले जान्ने कुरा हो । म हिजो माओवादी थिएँ, आज एमाले छु । अरु थुप्रै साथीहरु" अझै एमालेमा आउँदै हुनुहुन्छ, हेर्दै जानुहोला । 

तपाईंलाई एमोलेले प्रदेशको सांसदको टिकट दिन्छ त ? 

म तपाईंलाई फेरी भन्छु, म केही पाउनका लागि एमालेमा आएको हैन । मेरा लागि माओवादीमा पनि पद थिएँ । म पाँचपटक जिल्ला अध्यक्ष भएको मान्छे हो । नेकपा कालमा झण्डै ३ वर्ष अध्यक्ष नै बनेँ ।  तर, राजनीतिक र वैचारिक कुरा ठूलो हो । 
 

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार  ५ : ०१ बजे