निलम्बित प्रधानन्यायाधीश जबराको पूरक बयान सुरु

काठमाडौँ । संसद्को महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग पूरक बयान लिन सुरु गरेको छ । बयान दिन जबरा शुक्रवार बिहान ९ बजे महाभियोग सिफारिस समिति पुग्नुभएको हो ।

समितिले निलम्बित प्रधानन्यायाधीश जबरासँग यसअघि ४३ वटा प्रश्न सोधिसकेको छ ।  प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले भदौ १५ देखि बयान लिइरहेको हो। 

बयानका क्रममा जबराले सात जना वकिलको नाम लिनुभएको थियो । जबराले नाम लिनुभएका सात जना वकिलसँग समितिले सोधपुछ गरेको थियो । 

सर्वोच्चका ६ जना बहालवाला न्यायाधीश र ४ पूर्व प्रधानन्यायाधीशलाई समितिले छलफलका लागि बोलाए पनि उहाँहरू भने उपस्थित हुनु भएन। 

जबराविरुद्ध  सत्तारुढ दलका सांसदले फागुन १  गते महाभियोग दर्ता गराएका थिए। अनुसन्धान गर्न प्रतिनिधिसभाले ११ सदस्यीय समिति गठन गरिएलगत्तै जबरा निलम्बित हुनुभएकाे थियाे । 

हालसम्मको बयानमा जबराले महाभियोग निष्क्रिय भइसकेको दाबी गर्नुभएको छ । आफू विरुद्ध ल्याइएको महाभियोग प्रस्ताव संविधान र नियमावलीविपरीत भएको उहाँले दाबी गर्दै आइरहनुभएको छ । 

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार  १० : ३१ बजे