‘एउटै नाउरको सिकार गर्न २३ लाख’

शनिवारदेखि चार देशीय ‘पोखरा आर्ट क्याम्प’

काठमाडौँ । चार देशका कलाकारहरूको सहभागितामा पोखरामा बृहत् आर्ट क्याम्प आयोजना गरिने भएको छ । 

गण्डकी प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा आजदेखि असोज ४ गतेसम्म हुने ‘पोखरा आर्ट क्याम्प’मा नेपालसहित भारत, बङ्गलादेश र इरानका झन्डै एक सय कलाकारको सहभागिता रहने आयोजक अन्तर्राष्ट्रिय जलरङ समाज (आइडब्लुएस) नेपालले जनाएको छ । 

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ सङ्क्रमणका कारण ललितकलाका गतिविधि भर्चुअलमा सीमित भइरहेको सन्दर्भमा सङ्क्रमण न्यून भएसँगै उक्त कार्यक्रम भौतिक उपस्थितिमा गर्न लागिएको हो । 

कोरोना महामारीले पर्यटनसहित ललितकलाका कार्यक्रमसमेत नराम्ररी प्रभावित भएको थियो । जसका कारण कला पर्यटन ठप्प हुन पुगेको थियो । 

अब भने बिस्तारै कला पर्यटन प्रवर्द्धन गर्दै कलामार्फत नेपालको पहिचान विश्वव्यापी रूपमा पुर्‍याउने प्रयास थालिएको शनिवार साँझ आयोजित पत्रकार सम्मेलनमा आयोजक समितिका संयोजक आइडब्लुएस नेपालका अध्यक्ष एनबी गुरुङले जानकारी दिनुभयो ।

‘पोखरा घुमौँ र पोखराको प्राकृतिक सौन्दर्यलाई चित्रण गरौँ’ भन्ने नाराका साथ आयोजना हुने कार्यक्रममा कला कार्यशालाका साथै कला सेमिनार, कला पर्यटन भ्रमण तथा कला प्रदर्शनी हुनेछ ।

गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव मनकुमार श्रेष्ठले गण्डकी प्रदेश कला, साहित्य, सङ्गीत र संस्कृतिको उर्वर भूमि तथा हरेक जातिको आफ्नै गौरवपूर्ण भाषा र संस्कृतिको रमणीय स्थान भएको जानकारी दिनुभयो । 

उहाँका अनुसार आठ हजारमाथिका तीन वटा हिमाल एकसाथ देखिने गण्डकी प्रदेशको राजधानी पोखरा हो ।

उहाँले पोखरा आर्ट क्याम्पमार्फत गण्डकीको सुन्दरता विश्वभर पुर्‍याउने अभियानमा सहभागी हुन पाएकोमा खुसी व्यक्त गर्नुभयो । 

ललितकलाको क्षेत्रमा महत्त्वपूर्ण कार्यक्रम गर्दै आएको आइडब्लुएस नेपालले यसअघि काठमाडौँ, घान्द्रुक र लुम्बिनीमा अन्तर्राष्ट्रिय जलरङ महोत्सव सम्पन्न गरिसकेको छ । 

पछिल्लो कला महोत्सव भने कोरोनाका कारण प्रभावित भएको र उपयुक्त समयमा आयोजना गर्ने जनाइएको छ । रासस

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार  ८ : १७ बजे