राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दै छ । 

बिहान ११ः००बजे बस्ने बैठकको सम्भावित कार्यसूचीमा राष्ट्रियसभाका अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउने रहेको छ ।

त्यस्तै राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त “केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७९” लाई सभा समक्ष टेबुल गर्ने कार्यसूची रहेको छ ।

विधायन व्यवस्थापन समितिका सभापति डा.बेदुराम भुसालले “पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७६” सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन सभा समक्ष पेस गर्नेछन् भने अर्थमन्त्री जनार्दन शर्माले बीमा विधेयक, २०७५ र  सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची समेत रहेको संसद् सचिवालयले जनाएको छ ।

 

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार  ८ : ०९ बजे