आन्तरिक हवाई उडानमा अत्यधिक चाप

नेपालले पाकिस्तानलाई अत्यावश्यक मानवीय सहायता सामग्री पठायो

काठमाडौँ । नेपाल सरकारले पाकिस्तानमा विपद्मा परेकाहरुलाई राहतस्वरुप २२ टनभन्दा बढी अत्यावश्यक सामग्रीहरु पठाएको छ ।

परराष्ट्र मन्त्रालयले दिएको जानकारी अनुसार पाकिस्तानमा बाढीपहिरोजन्य घटनाका पीडितलाई राहतस्वरुप उक्त सहायता सामग्री उपलब्ध गराएको जनाएको हो । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडीए तीन सय ३० जहाजमार्फत उक्त सहायता सामग्री पाकिस्तानको कराँची सहर पठाएको छ ।

नेपालले पाकिस्तानलाई अत्यावश्यक औषधि, खाद्यवस्तु, लत्ताकपडालगायतका सामग्री पठाएको परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले बताएका छन् । यो सहायता सामग्री नेपाल सरकारले एकैपटक उपलब्ध गराएको हालसम्मकै ठूलो राहत भएको प्रवक्ता लम्सालको भनाइ छ ।

कराँची जाने टोलीलाई बिदाइ गर्न विमानस्थलमा परराष्ट्रमन्त्री डा नारायण खड्का उपस्थित थिए । राहत सामग्री हस्तान्तरण गर्न परराष्ट्र मन्त्रालयका प्रवक्ता लम्सालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल कराँची प्रस्थान गरेको हो । टोलीमा गृहमन्त्रालय, अर्थमन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, स्वास्थ्य सेवा विभागका पदाधिकारी तथा सञ्चारकर्मी सहभागी छन् । 

ती सामग्री कराँचीस्थित जिना अन्तर्राष्ट्रिय विमानस्थमा पाकिस्तान सरकारका सम्बद्ध पदाधिकारीलाई एक कार्यक्रमकाबीच हस्तान्तरण गर्ने कार्यक्रम रहेको प्रवक्ता लम्सालले बताए ।

मित्रराष्ट्रराष्ट्र पाकिस्तानसँग २० मार्च १९६० मा कूटनीतिक सम्बन्ध स्थापित भएदेखि दुवै मुलुककाबीचमा सरकार तथा जनस्तरमा सहयोगात्मक सम्बन्ध विद्यमान हुनुका साथै प्राकृतिक प्रकोपका समयमा एकआपसमा सहयोग गर्ने परम्परा रहदै आएको छ ।

नेपाल सरकारले यसअघि सन् २०१० मा पाकिस्तानलाई नगद रु एक करोड सहयोग गरेको थियो भने पाकिस्तानले विसं २०७२ को विनाशकारी भूकम्पका पीडितलाई राहतस्वस्प नेपाललाई आवश्यक मानवीय सहायता उपलब्ध गराएको थियो ।

प्रकाशित मिति : २८ भाद्र २०७९, मंगलबार  १ : २२ बजे