आन्तरिक हवाई उडानमा अत्यधिक चाप

सोलुखुम्बुका २२ जनाले त्यागे नेपाली नागरिकता

सोलुखुम्बु  । पछिल्ला १२ वर्षमा सोलुखुम्बुका २२ जनाले नेपाली नागरिकता त्यागेका छन् । जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुको तथ्याङ्क अनुसार वि.स. २०६६ सालदेखि हालसम्म ११ महिला र ११ जना पुरुष गरी २२ जनाले नागरिकता त्यागेका हुन् ।

वि.स. २०६६ मा चार जनाले, २०६८ मा दुई जनाले, २०७१ मा एक जनाले, २०७२ मा तीन जनाले, २०७४ मा तीन जनाले, २०७५ मा दुई जनाले, २०७६ मा चार जनाले, २०७८ मा एक जनाले र २०७९ को हालसम्ममा दुई जनाले नेपाली नागरिकता त्यागेको प्रमुख जिल्ला अधिकारी अनिल खनालले जानकारी दिनुभयो ।

रोजगारीको सिलसिलामा विदेश गएर त्यही देशको नागरिक भएका उनीहरूले नेपालको नागरिकता परित्याग गरेका हुन् । नागरिकता परित्याग गर्ने अधिकांश अमेरिका गएकाहरू छन् भने केही अन्य युरोपियन मुलुकहरूमा गएका हुन् ।

यसका लागि स्वयम् नागरिकले जिल्लामा रहेको समयमा सिधै जिल्ला प्रशासन कार्यालयमा र विदेशमा रहेको समयमा दूतावासमार्फत नागरिकता परित्यागको प्रक्रिया गर्ने गरेका हुन् । यसरी परित्याग गर्नेमा दूतावासबाट परराष्ट्र मन्त्रालय, गृह मन्त्रालय हुँदै जिल्ला प्रशासन कार्यालयमा आउने बढी रहेको कार्यालयले जनाएको छ ।

यस अवधिमा दुई जना पुरुषको नागरिकता रद्द गरिएको छ । नेपालकै नागरिकता दोहोरो लिएको पाइएमा त्यस्ता नागरिकता रद्द गर्ने गरिन्छ ।

प्रकाशित मिति : २८ भाद्र २०७९, मंगलबार  ११ : ४० बजे