आगामी निर्वाचन : मङ्सिर ४ देशभक्त र वामपन्थीहरूको सरकार !

नयाँ पुस्ता अर्थात् युवाहरूले राजनीतिमा हस्तक्षेप गर्ने भनेको राजनीतिको बहुआयामिक पक्ष बुझ्ने र वैचारिक जगमा दलहरू रोज्ने वा खोल्ने अनि आफ्नो सबल र असल पक्ष भन्ने हो नकि अमुक नेता वा दलको मात्र विरोध गरेर आफ्नो उपस्थिति देखाउने । अहिले केही पात्रहरू आफू चिनिनका लागि ठुला नेताका विरुद्ध स्वतन्त्र उम्मेदवारीको घोषणा गर्दैछन् भने केही पात्रहरू स्वतन्त्रको बर्को ओढेर पार्टीको नेता बन्दै छन् । त्यति मात्र कहाँ हो र, तिनीहरू अघोषित रूपमा वर्तमान सत्ता गठबन्धनलाई जिताउने गरी राजनीति पनि गरिरहेका छन् । यो खालको मतिभ्रमले नेपालको राजनीति अझ विकृत बनाउने, नेपालमा नियन्त्रित अस्थिरता बढाउने र ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने राष्ट्रिय सङ्कल्प कमजोर बनाएर असफल पार्ने काम गर्नेछ । 

आगामी निर्वाचन: “मङ्सिर ४ देशभक्त र वामपन्थीहरूको सरकार !” भन्ने कुरा आमजनतालाई बुझाउन सकिएन भने २०७४ को जनादेश खण्डित गर्ने दक्षिणपन्थी षड्यन्त्र र परमादेशवादीहरूका नाइके र मतियारहरूलाई दण्डित गरेर कम्फर्टेबलवादीहरूको घोषित अघोषित चुनावी गठबन्धनलाई पराजित गर्न सकिँदैन। त्यसैले देशभक्त र वामपन्थीहरू एकजुट भएर नेपालको राजनीतिमा बाह्य हस्तक्षेप असफल बनाउन पनि आगामी आमनिर्वाचनमा महागठबन्धनलाई जनताको मतबाट पराजित गर्नुपर्ने भएको छ । 

कम्फर्टेबल सत्ता गठबन्धनले देश कमजोर बनाउन बाह्य चाहाना र रणनीतिअनुसार नागरिकता विधेयक हुबहु संसद्बाट अनुमोदन गरेर राष्ट्रपति संस्थाको अपमान मात्र गरेको छैन, राष्ट्र घात पनि गरेको छ । 

कम्फर्टेबल सत्ता गठबन्धनले देश कमजोर बनाउन बाह्य चाहाना र रणनीतिअनुसार नागरिकता विधेयक हुबहु संसद्बाट अनुमोदन गरेर राष्ट्रपति संस्थाको अपमान मात्र गरेको छैन, राष्ट्र घात पनि गरेको छ । अहिले राष्ट्रपतिसामु संविधान पालना गरेर राष्ट्रघातीहरूको सहयोगी बन्ने कि विधेयकलाई रोकेर राष्ट्रको पक्षमा उभिने ? राष्ट्रपतिले संविधानको पालना गर्ने कि नगर्ने ? भन्ने गम्भीर प्रश्नहरू उठेको छ । संविधानको पालना गर्दा राष्ट्घातको कलङ्क लाग्छ भने नगर्दा संविधानको पालना नगरेको आक्षेप । यस्तो अवस्थामा संविधानभन्दा देशमाथि ठानेर नागरिकता विधेयक रोकेर पनि राष्ट्रघातीहरूबाट देशलाई जोगाउनुपर्छ भन्ने आवाज उठाउनुपर्ने भएको छ । किनभने जन्मभूमिको स्वार्थको पक्षमा उभिँदा कुनै बात लाग्दैन र आत्मग्लानि गर्नु पनि पर्दैन ।

यतिखेर गठबन्धनमा रहेका दलहरू नेपाली काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र मसालले राष्ट्रिय स्वार्थ कमजोर बनाउन र दक्षिण पश्चिमलाई खुसी पार्न नागरिकता विधेयक ल्याए । विधेयकमा राष्ट्रपतिले देखाउनुभएको चासो र दिनुभएको सुझावहरूलाई बेवास्ता गरेर अहिले त्यो विधेयक दुवै सदनको प्राविधिक बहुमतले पास गराएर प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पुगेको छ । आज नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण नभए के हुन्छ भन्ने प्रश्नले चर्चा पाएको छ । यदि यो प्रश्न अदालतमा पुग्ला र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा विरुद्धको महाअभियोग निष्क्रिय भएर राणा अदालत फर्किएलान कि भन्ने डरले देउवा र माझण्डहरू त्रसित भएर अभिव्यक्ति दिइरहेका छन् । नागरिकताको यति ठुलो मुद्दामा ती स्वतन्त्र  र वैकल्पिक नयाँ पार्टी भन्नेहरू भने आफ्ना दाताहरू भड्किएलान् कि भनेर बोलेका छैनन् । उनीहरूको मौनताले उनीहरू पनि गठबन्धन कै पक्षमा रहेको देखाउँछ ।

नेपालको राजनीतिमा नेपाली काँग्रेस बलियो हुँदा वा बनाउँदा मात्रै आफ्नो स्वार्थ बलियो हुने बुझेको दक्षिण पश्चिमले ‘विभाजन र शासनको नीति’ अपनाएर माझण्डहरूलाई शेरबहादुर देउवाको भरिया बनाउन सघाइरहेका छन् । यति गर्दा पनि नेपाली काँग्रेस अपेक्षित रूपमा बलियो नहुने भएपछि अहिले स्वतन्त्र पार्टी र उम्मेदवारहरू खडा गरेर निश्चित नेता र दलका विरुद्ध ‘नट एगेन’ भन्ने अभियान चलाउन सघाउँदै छन्। शेरबहादुर देउवाको उत्तराधिकारीको रूपमा गगन थापालाई अघि सार्न लगानी गरिरहेका छन्। तर हामी नेपाली जनताले इतिहास बुझ्नुपर्छ, नेपाली काँग्रेस बलियो भएर सत्ताको नेतृत्व गर्दा नेपाल सधैँ भारतबाट ठगिएको छ र नेपालमा पश्चिमा भाषिक सांस्कृतिक अतिक्रमण बढेको छ ।

दक्षिण पश्चिमले देउवा र माझण्डहरूलाई उपयोग गरेर नेपालमा एकतिरले दुई सिकार गर्न खोज्दै छ । पहिलो, नेपाली राष्ट्रिय स्वाभिमान र क्षमता कमजोर बनाउने अनि दोस्रो नेकपा एमालेलाई सत्ताको नेतृत्वमा पुग्न नदिने । उनीहरूलाई थाहा छ, नेपालको राष्ट्रिय स्वाभिमान कमजोर बनाउन सबभन्दा पहिला नेपाल बलियो बन्दै गरेको कम्न्युनिष्ट आन्दोलन कमजोर बनाउनुपर्छ । कम्न्युनिष्ट आन्दोलन कमजोर बनाउन नेकपा एमालेलाई कमजोर बनाउनुपर्छ । नेकपा एमाले कमजोर बनाउन केपी ओलीलाई कमजोर बनाउनुपर्छ भनेर उनीहरूले माझण्डहरूलाई उपयोग गरिरहेका छन्। त्यही बुझाइअनुसार उनीहरू रणनीति बनाएर लागेका छन् ।

“मङ्सिर चार देशभक्त तथा वामपन्थीहरूको नेतृत्वमा सरकार” भन्ने नारालाई साकार पार्नका लागि नेकपा एमालेका नेता तथा कार्यकर्ताहरू त्याग र समर्पणका साथ किङ मेकरको भावनाले निर्देशित हुनुपर्छ । बाह्य षडयन्त्रहरूबाट जोगिएर जनतालाई राष्ट्रिय मुद्दामा केन्द्रित बनाउन देशभक्त तथा वामपन्थीहरूले चुनावी रणनीति बनाउँदै राजनीति गर्नुपर्ने भएको छ । आज नयाँ पुस्तालाई भ्रमित बनाएर बदनाम गर्ने नियतका साथ नेपालको राजनीतिमा बहुदलीय व्यवस्थाभित्र निर्दलीय अभ्यासलाई स्थापित गर्ने प्रयास पनि भइरहेको छ । त्यसैले २०४६ को जनआन्दोलनपछि हुर्केको पुस्ता अर्थात् युवाहरूले राजनीतिको गहिराइलाई बुझेर देशको हितमा आफ्नो प्रभाव, क्षमता र मताधिकार प्रयोग गर्न सक्नुपर्छ अन्यथा अर्को पाँच वर्ष खेर जानेछ अनि देश पछाडि पर्नेछ ।

त्यसैले, मङ्सिर ४ मा हुन गइरहेको आमनिर्वाचनमा मतदाताहरूले भ्रम, प्रभाव र प्रलोभनमा नपरी राष्ट्रको पक्षमा मतदान अनि देश विरोधीहरूलाई चिनेर बहिष्कार गर्नुपर्नेछ। आज जनतामा त्यो क्षमता विकास गर्न राज्यको चौथो अङ्ग सञ्चार माध्यमहरूले सकारात्मक र रचनात्मक भूमिका निर्वाह गर्नुपर्ने हो । तर दुर्भाग्य नै भन्नुपर्छ, आफूलाई मूलधारको सञ्चार माध्यम भनेर गर्व गर्नेहरूले स्वतन्त्र र निष्पक्ष भूमिका निर्वाह नगरी वर्तमान कम्फर्टेबल सत्ता गठबन्धनको राजनीति बलियो बनाउने गरी आफ्नो भूमिका, प्रभाव र क्षमताहरू दुरुपयोग गरिरहेका छन् ।

चौतर्फी घेराबन्दी अनि दबाबका बाबजुद पनि गएको स्थानीय चुनावमा नेकपा एमालेले परिणाममा दोस्रो दल भएता पनि लोकप्रिय मतमा पहिलो बन्न पुगेपछि विरोधीहरू चुनावी महागठबन्धन बनाउने कसरत गरिरहेका छन् । अनि उनीहरू नेकपा एमालेलाई एक्ला एक्लै चुनाव लडेर हराउन सकिन्न भन्दैछन् । बालुवाटारमा दिनहुँ बैठक बसेर चुनावी गठबन्धनको खाँका बनाउन खोज्दैछन् तर सहमतिमा पुग्न सकेका छैनन् । तर पनि गठबन्धनभित्रका दलहरूले एक अर्काका विरुद्ध केही नबोल्ने रणनीति अपनाएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले चितवन पुगेर भनेका छन्, “गठबन्धनको विरोध नगर्नु, यो कुनै पनि हालत टुट्दैन् । हिजो केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाउन मिल्नुपरेको थियो भने आज केपी ओली अर्थात् नेकपा एमालेलाई रोक्न गठबन्धन कायम गर्नुपर्छ ।” देउवाले भनेका छन्, गठबन्धन तोड्नु भनेको नेपाली काँग्रेसलाई सिद्ध्याउने षडयन्त्र हो ।

राजनीति वैचारिक मूल्यमान्यता र विश्वासको जगमा गरिनुपर्छ अनि २१ औँ शताब्दीमा राजनीतिक गतिविधि गर्न परम्परागत शैली अपनाउनु नागरिकको चेतना, सूचना, विज्ञान र प्रविधिको क्षेत्रमा आएको परिवर्तनका साथै जनअपेक्षा र देशको आवश्यकतालाई बेवास्ता गर्नु हो। यतिखेर देशले सकारात्मक धारको प्रगतिशील, लोकतान्त्रिक, जनमुखी र देशमुखी राजनीति खोजेको छ । यी पक्षलाई मनन गरेर ‘सम्वृद्ध नेपाल सुखी नेपाली’ बनाउने सङ्कल्पका साथ जनताको बहुदलीय जनवादलाई आदर्श बनाएको दल नेकपा एमालेले देशमुखी घोषणापत्र बनाएर विचारमा प्रतिबद्ध, जनताको सेवामा कटिबद्ध अनि राष्ट्रिय स्वाभिमान उचों राख्न एकताबद्ध हुने क्षमता भएका उम्मेदवारहरू उठाएर चुनावी रणनीतिका साथ अघि बढ्नुपर्छ ।

जनताले बुझ्नुपर्छ, मङ्सिर ४ भोलि देश कसको नेतृत्वमा कस्तो बनाउने भन्ने प्रश्नको उत्तर खोज्न निर्णय गर्ने दिन पनि हो । यसर्थ हामीले विवेक पुर्‍याएर असल राजनीतिक संस्कार र देशमुखी सरकार निर्माण गर्ने गरी मतदान गर्नुपर्छ । फेरि एकपल्ट समयले हाम्रो बुद्धि, विवेक र क्षमताको परीक्षण गर्दैछ । चेतना भया !

प्रकाशित मिति : २७ भाद्र २०७९, सोमबार  ९ : ४० बजे