अध्यक्ष ओलीको प्रश्न –देश लुट्नेहरूले राजीनामा दिन नपर्ने, राष्ट्रपतिले राजीनामा दिनुपर्ने ?  

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नागरिकता विधेयक नागरिकता समस्या समाधान गर्न नभई पाँच दलीय गठबन्धनले तराई–मधेसमा  एमाले नागरिकता विरोधी हो भनी भ्रम छर्न ल्याएको बताउनुभएको छ ।  

उहाँले एमालेमा प्रवेश गर्नुभएका जनता समाजवादी पार्टीका सांसद तथा नेताहरूलाई आइतबार पार्टीको केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा स्वागत गर्दै गठबन्धनमा रहेका दलहरूले एमालेका विरुद्धमा भ्रम छर्न सक्ने हुँदा तराई–मधेसका नेता कार्यकर्ताहरूले भ्रम चिर्ने काम गर्नुपर्ने बताउनुभयो ।

उहाँले नेकपा (एमाले) ले जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता दिनुपर्छ भन्ने मान्यता राख्ने स्पष्ट गर्दै त्यसका लागि यसै संसद्बाट नागरिकता विधेयक संशोधन गर्ने हो भने अझै पनि समय रहेको बताउनुभयो । 

गठबन्धन सरकारलाई नागरिकताको समस्या समाधान गर्नु छैन भन्दै अध्यक्ष ओलीले यदि जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता दिने नै हो भने संसद्मा दुई लाइनको संशोधन ल्याउनु, यसै संसद्बाट पास गर्न सकिन्छ भन्नुभयो । 

उहाँले आफ्नो नेतृत्वको सरकारका पालामा अध्यादेशमार्फत उक्त व्यवस्था गरी नागरिकता वितरण भइरहेको समयमा अदालतबाट नागरिकता वितरण रोक्न आदेश गराइएको स्मरण गर्दै त्यो बेला नरोकिएको भए समस्या समाधान भइसक्थ्यो भन्नुभयो ।

अध्यक्ष ओलीले गठबन्धनले ल्याएको नागरिकता विधेयकमा राष्ट्रपतिले केही विषयमा पुनर्विचार गर्न भनी संसद्मा फिर्ता पठाउँदा विधेयक संसद्मा नपुग्दै संविधानले नचिन्नेहरू भेला भएर ‘बाउन्सर’ शैलीमा पुनर्विचार गर्दैनौँ भनेका र तिनै मध्येका एकले अहिले राष्ट्रपतिले राजीनामा दिनुपर्ने भन्न थालेको बताउनुभयो । 

उहाँले प्रश्न गर्नुभयो– “दुई तिहाइको आफ्नै दलको सरकार ढाल्ने, देश अधोगति तिर लैजाने, देश लुट्ने प्रतिगामी तत्त्वहरूले राजीनामा दिनु नपर्ने, राष्ट्रपतिले राजीनामा दिनुपर्ने ?”

बहुमतका आधारमा भोलि जनतालाई जवाफ दिन नपर्ने ‘बाउन्सर’ खालको मान्छेलाई यो–यो काम गर्ने भनी करारनामा गराई कानुन मन्त्री बनाइएको र उसले जनताबाट निर्वाचित जनप्रतिनिधिलाई पाठ सिकाउँदै गरेको अध्यक्ष ओलीको भनाई थियो ।

अध्यक्ष ओलीले आफ्नो नेतृत्वको सरकारले तराई–मधेसमा हुलाकी राजमार्ग निर्माणलाई गति दिएको, पूर्वपश्चिम राजमार्गबाट सबै जिल्ला सदरमुकाम जोड्ने सडक छ लेनमा विस्तार गर्ने काम भएको, जनता आवास कार्यक्रम सुरु गरी विपन्न घरवारविहीनलाई आवासको व्यवस्था गरेको, फुसका छाना हटाई अनुदानमा जस्तापाता उपलब्ध गराउने काम गरेको, जनकपुरसम्म रेलमार्ग निर्माण÷मर्मत गरी रेल किनेर सञ्चालनमा ल्याउने काम भएको लगायतका कामको स्मरण गर्नुभयो । 

उहाँले वर्तमान गठबन्धन सरकार गठन भएको १३ महिनामा देश अधोगतितर्फ गइरहेको, सबै आर्थिक सूचकाङ्क नकारात्मक रहेको, महँगी, मुद्रास्फीतिका कारण जनताको जीवन कष्टकर बनेको र यही गठबन्धन रही रहँदा देश बरबादीतर्फ जाने भएकाले देशलाई त्यस दिशामा जानबाट रोक्ने जिम्मेवारी एमालेको काँधमा आएको बताउनुभयो । 

कुनै नीति र गन्तव्य नभएको गठबन्धन लोकतन्त्रका लागि होइन, लुटतन्त्रका लागि काम गरिरहेको र राज्यसत्ता कब्जा गरेर विरोधीलाई सखाप पार्ने उद्देश्यमा केन्द्रित रहेको चर्चा गर्दै अध्यक्ष ओलीले देशमा लुटतन्त्र अन्त्यका लागि आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा नेकपा (एमाले) लाई बहुमतका साथ विजयी गराउन सिङ्गो पार्टी पङ्क्ति दृढ सङ्कल्पका साथ लाग्नुपर्ने बताउनुभयो । 

प्रकाशित मिति : २७ भाद्र २०७९, सोमबार  ८ : २७ बजे