दार्चुलामा बाढीले डेढ दर्जन बगायो, एक जनाको मृत्यु (अपडेट)

दार्चुला । शुक्रवार रातिदेखि परेको अविरल वर्षाले जिल्लाको सदरमुकामस्थित खलङ्गाको बंगाबगड क्षेत्रमा धनजनको क्षति पुर्‍याएको छ । 

जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी प्रहरी सहायक निरीक्षक लोकेन्द्रबहादुर चन्दका अनुसार करिब डेढ दर्जन घर बग्नुका साथै छ जना बेपत्ता भएका छन् । एक जनाको शव फेला परेको छ । 

जिल्लाको महाकाली नगरपालिका–३ डुङ्गरी क्षेत्रमा एकै घरका चार जना धनसिंह, मानमती, दीपक, दिनेश कार्की बेपत्ता भएका छन् । 

जिल्लाको नौगाड गाउँपालिकामा–३५ वर्षीय चिमणे ठगुन्नाको मृत्यु भएको र एक जना बेपत्ता हुनुका साथै दुई जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा नौगाड गापाका कासी ठगुन्ना र रम्बा ठगुन्ना रहेका छन् ।

घाइतेलाई उपचारको लागि हेलिकोप्टरमार्फत लैजाने व्यवस्थापन गरिएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताउनुभयो । उक्त जोखिम क्षेत्रमा सुरक्षाकर्मीले राति नै मान्छे अन्यत्र सारेको छ ।

बाढीले दर्जनौँ घर बगाउनुका साथै लास्को खोलाको झोलुङ्गे पुल पनि बगाएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार रातिदेखि अहिलेसम्म उद्धार कार्य जारी नै रहेकाले क्षतिको पुरै विवरण प्राप्त हुन बाँकी रहेको छ ।

त्यस्तै, महाकाली नगरपालिका–३ लास्को खोलाले रोकेर राखेका सात वटा गाडी समेत बगाएको छ । घटनास्थल क्षेत्रमा उद्धार कार्यका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी र स्थानीय खटिएका छन् । 

शुक्रवार रातिदेखि परेको अविरल वर्षाले दार्चुला तिङ्कर सडकमा पर्ने लास्कुखोला माथिको झोलुङ्गे र मोटर पुल समेत बगाएको छ । बिहानदेखि पानी पर्न छोडे पनि उक्त क्षेत्रमा नदीले अझै कटान गरिरहेको छ । 

जिल्ला प्रशासन कार्यालय दार्चुलाले सबैलाई सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ । रासस

प्रकाशित मिति : २५ भाद्र २०७९, शनिबार  ९ : ३१ बजे