पाकिस्तान श्रीलंकासँग पराजित

काठमाडौँ । एसिया कप क्रिकेट २०२२ को सुपर फोरमा श्रीलङ्काले शतप्रतिशत जित निकालेको छ । 

सुपर फोरको अन्तिम खेलमा फाइनलमा स्थान बनाइसकेका श्रीलङ्काले शुक्रवार पाकिस्तानलाई पाँच विकेटले पराजित गर्‍यो ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पाकिस्तानले दिएको एक सय २२ रनको लक्ष्य श्रीलङ्काले १७ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्‍यो ।

श्रीलङ्काको जितमा ओपनर पथुम निशाकाले सर्वाधिक ५५ रन बनाए । यस्तै, भानुका राजापाक्षेले २४ र कप्तान दसुन सनाकाले २१ रन बनाउँदा वनिन्दु हसरंगा १० रनमा अविजित रहे । पाकिस्तानका मुहम्मद हसनैन र ह्यारिस रौफले समान दुई विकेट लिए । 

यसअघि टस हारेर ब्याटिङ गरेको पाकिस्तानले १९.१ ओभरमा सबै विकेट गुमाउनुअघि एक सय २१ रनको योगफल खडा गरेको थियो ।

पाकिस्तानका कप्तान बाबर आजमले सर्वाधिक ३० रन बनाएका थिए । यसबाहेक, मुहम्मद नवाजले २६, मोहम्मद रिजवानले १४ रन जोड्दा फकर जमान र इफ्खिर अहमेदले समान १३ रन जोडे ।श्रीलङ्काका वनिन्दु हसरंगाले तीन विकेट लिए । 

सुपर फोरमा यसअघि श्रीलङ्का र पाकिस्तान दुवैले भारत र अफगानिस्तानलाई हराउँदै उपाधि भिडन्त पक्का गरेका थिए ।

प्रकाशित मिति : २५ भाद्र २०७९, शनिबार  ७ : २३ बजे