भारतले गहुँ पछि चामल निर्यातमा लगायो प्रतिबन्ध 

काठमाडौं । गहुँ निकासीमा प्रतिबन्ध लगाएको भारतले कनिका निर्यातमासमेत रोक लगाएको छ । भारतले धान र चामलको निर्यातमा लाग्ने करको दरसमेत वृद्धि गरेको छ  । 

भारतले आफूले निर्यात गर्ने सेतो र खैरो धान र चामलमा २० प्रतिशत कर वृद्धि गरेको हो ।  बुधबारेदेखि लागू हुने गरी भारतले  सो निर्णय बिहीबारदेखि कार्यान्वयनमा ल्याएको हो । 

आर्थिक वर्ष २०७८र०७९ मा नेपालले ४७ अर्ब ५७ करोड ३६ लाख रुपैयाँको धान, चामल र कनिका आयात गरेको थियो ।

२९ अर्ब ४ करोड ५७ लाख मूल्य बराबरको ५२ करोड ८३ लाख किलो चामल, १६ अर्ब ९९ करोड मूल्यको ५५ करोड १७ लाख किलो धान र एक अर्ब ५३ करोड मूल्यको ५० करोड ३९ लाख किलो कनिका नेपालले आयात गरेको थियो । भारतको कर वृद्धिको निर्णयले नेपालमा चामलको मूल्य महँगो हुनेछ । कनिका निर्यात प्रतिवन्ध लगाउने निर्णयले नेपालका वियर उद्योग र दाना उत्पादनमा असर पर्नेछ । 

आफ्नो उत्पादन घटेको र विश्वभर खाद्य संकटको अवस्था देखिएको भन्दै भारतले आफ्नो बजार मूल्य नियन्त्रण गर्न पनि भारतले धान चामल निर्यातमा रोक लगाएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

चीनपछि विश्वको दोस्रो ठूलो धान उत्पादक भारतको विश्व व्यापारमा ४० प्रतिशत हिस्सा ओगटेको छ । 
 

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार  २ : ५३ बजे