यस्तो छ आजको विनिमय दर

बाँकेमा डेङ्गु सङ्क्रमण बढ्दै

नेपालगञ्ज । बाँकेमा पछिल्लो समय डेङ्गुबाट सङ्क्रमित हुनेको सङ्ख्या बढ्दै गएको छ । 

अहिलेसम्म जिल्लाका विभिन्न पालिकाकामा गरी ११ जनामा डेङ्गु सङ्क्रमण फैलिएको छ ।  जिल्ला स्वास्थ्य कार्यालय बाँकेका किटजन्य रोग फोकल पर्सन दुर्गा गौतमका अनुसार ११ मध्ये आठ जना जिल्लाभित्रका छन् । 

बुधवार मात्रै डेङ्गुबाट नेपालगञ्जमा दुई जनाको मृत्यु भएको छ । सङ्क्रमितमध्ये सबैभन्दा बढी नेपालगञ्ज उपमहानगरपालिकाका पाँच, कोहलपुर नगरपालिकाका दुई र बैजनाथ गाउँपालिकाका एक जना छन् । अन्य तीन जना बुटवल र काठमाडौँ आवतजावत गर्दा सङ्क्रमित भएका पाइएको छ । 

यस्तै भेरी अस्पताल नेपालगञ्जमा पनि डेङ्गु र भाइरल ज्वरोका बिरामीको चाप ह्वात्तै बढेको छ । अस्पतालका सूचना अधिकारी डा सङ्केतकुमार रिसालले डेङ्गु र भाइरल ज्वरोका बिरामी बढ्दै गएको उल्लेख गर्दै दमका रोगीसमेत बढेको बताउनुभयो । 

“अस्पताल भरिभराउ छ, बिरामी धेरै छन्”, उहाँले भन्नुभयो । डा रिसालले लामखुट्टेबाट बच्नु नै डेङ्गुको सङ्क्रमणबाट जोगिनु भएको उल्लेख गर्दै त्यसबाट बच्न लामखुट्टेको बासस्थान नै नष्ट गर्न आवश्यक भएको बताउनुभयो । त्यस्तै नेपालगञ्ज उपमहानगरपालिकामा डेङ्गु सङ्क्रमित भेटिएपछि लामखुट्टेका लार्भा र फुल नष्ट गर्न थालिएको छ ।  रासस

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार  १० : ४८ बजे