राजनीतिमा संस्कृतिको प्रभाव र संस्कृतिकर्मीको नजरमा खगेन्द्र राई

कुनै पनि व्यक्तिको व्यक्तित्वलाई उचाल्ने र उजेल्ने विचार र व्यवहारले हो । विचार विनाको व्यवहार र व्यवहार विनाको बिचारको खासै महत्त्व हुँदैन । मानिसको पदीय स्थान जे जस्तोसुकै होस्, विचार र व्यवहारबीच सङ्गति मिल्छ भने त्यस्ता मानिस उच्च र उज्याला हुन्छन् । सामाजिक रूपान्तरणमा व्यक्तिको भूमिका हुन्छ भन्नुको अन्तर्वस्तु पनि यही नै हो । यस्तै व्यक्तित्वहरूमध्ये एक जना हुनुहुन्छ— खगेन्द्र राई । 

खगेन्द्र राई नेकपा एमाले पार्टी केन्द्रीय कमिटी सदस्य तथा पार्टीको जनसांस्कृतिक इन्चार्ज हुनुहुन्छ । खगेन्द्र राई पार्टीको नीति, सिद्धान्त, विचारप्रति सतिसालझैँ अडिग तथा सृजनशील व्यक्ति हुनुहुन्छ । उहाँ वर्ग पक्षधरतामा प्रतिबद्ध देखिनुहुन्छ । २०६८ सालमा पार्टीमा देखा परेको चरम जातीय भड्काउका विरुद्ध उहाँ ठिङ्ग उभिनुभएको थियो । 

उहाँको सङ्गठित सांस्कृतिक यात्रा २०४२ सालदेखि सुरु भएको हो । एक समय बहुआयामिक सांस्कृतिक प्रतिभा हर्क चुम्मे सुनसरीमै लोकप्रिय कलाकार हुनुहुन्थ्यो । उहाँसहित भएर परिचालित हिमायती जनसांस्कृतिक समूह २०४२ मा आबद्ध भएका राई २०३७ सालदेखि धरानबाट विद्यार्थी राजनीतिमा आबद्ध भएका हुनुभएको हो । २०४७ सालमा पूर्व मालेको सङ्गठित सदस्यता प्राप्त गर्नुभएका राईको जन्म २०२२ सालमा खोटाङ जिल्लामा भएको हो । उहाँ मनसरी र मणिराम राईका छोरा हुनुहुन्छ । 

कमर्समा स्नातक(बि.कम), अर्थशास्त्र र समाजशास्त्रमा एम.ए., एम.फिल. गरेका राईले केही समय प्राध्यापन पनि गर्नुभएको थियो । सिद्धान्त, सिर्जना र सङ्गठन जस्ता त्रिआयामिक विशेषताका साथ क्रियाशील उहाँ विद्यार्थी कालमा चर्चित नृत्य कलाकार हुनुहुन्थ्यो । 

विद्यार्थी काल र त्यसपछि पटक पटक प्रहरी थुनामा पर्नुभएका राई काठमाडौँको जनसांस्कृतिक परिवारको सदस्य हुनुभएको थियो । २०४६ सालको जनआन्दोलन सफल पार्न पूर्वाञ्चलको अभियानमा कलाकारका रूपमा सहभागी हुनुहुन्थ्यो । २०७२ सालको विनाशकारी भूकम्प प्रभावितहरूको उद्धार कार्यमा उहाँले उद्धार काठमाडौँ क्षेत्र नं. ५ मा अगुवाइ गर्नुभएको थियो । 

उहाँ २०७३ मा तराई मधेस मेची महाकाली अभियानको सांस्कृतिक परिचालनको संयोजन गर्नुभएको थियो । खगेन्द्र राईले  २०७४सालको संविधान निर्माण पछिको प्रथम आमनिर्वाचनमा चुनावी सांस्कृतिक अभियानको संयोजक रही प्राप्त जिम्मेदारी कुशलतापूर्वक निर्वाह गर्नुभएको थियो । २०७५ को नेकपा कालको एकीकृत राष्ट्रिय जनसांस्कृतिक महासङ्घको संयोजक रहनुभएका उहाँले नौ वर्ष अध्यक्ष रहेर यस संस्थाको नेतृत्व गरिसक्नुभएको छ ।

२०७६ सालमा पार्टी विभाजन गर्ने षडयन्त्रलाई असफल दृढ अडान राख्ने राईको व्यक्तित्व बहुआयामिक रहेको देखिन्छ । २०७८ चैत्र १८ र २० गते राजसां महासङ्घको आठौँ राष्ट्रिय अधिवेशन सम्पन्न गरी नेतृत्व हस्तान्तरण गर्नुभएका उहाँ पार्टीको मूल राजनीतिमा अत्यन्त सक्रिय हुनुहुन्छ । 

लेखक, स्रष्टा र संस्कृति कर्मीप्रति उचित जिम्मेवारी प्रदान गर्ने विषयमा पार्टी र पार्टीका नेतामा केही कमजोरी रहेको अनुभव गरिएको छ । जनसांस्कृतिक महासङ्घ र यस क्षेत्रका अनुभवी प्रतिभाहरूलाई समकालीन र उपल्ला तहका नेताले हेर्ने, बोली र व्यवहारमा समस्या छन् । यसो हुनु सांस्कृतिक अज्ञानताको विषय हो । प्रसिद्ध गीतकार तथा संस्कृतिविद् मणि थापाजस्ता प्रतिभा पार्टीले पाएको छ ।  यस्ता प्रतिभाको उचित उपयोग गर्न जान्दा र सक्दा संस्कृतिले पनि न्याय पाउने छ । कवि र रविका अगाडि कोही केही होइन ।  कोइली कला र गालाका आधारमा लोकप्रिय भएको हो । त्यसैले कोइलीसित कागको तुलनै हुन सक्तैन । जिम्मेवार सांस्कृतिक तथा कलाकार व्यक्तित्व पार्टीको धेरै ठुलो धन हो, धनले नै धन कमाउँछ । 

धेरै नेता र कार्यकर्ताहरू प्रगतिशील गीत, सङ्गीत, नृत्य, नाट्य र सांस्कृतिक कार्यक्रमबाट प्रभावित भएर वाम आन्दोलनमा लागेको बताउँछन् तर त्यसले सांस्कृतिक रूपान्तरणमा के कस्तो गुणात्मक परिवर्तन गर्न गराउन सक्छ भन्ने कुरा नै बुझेको देखिँदैन, कतिले बुझेर पनि बुझ पचाएको शङ्का लाग्छ । कला साहित्य तथा सांस्कृतिक कार्यक्रमलाई भद्दा राजनीतिकरण गरे स्वतन्त्र श्रोता पाठक समुदायलाई उल्टो विकर्षित गर्छन् । परोक्ष र विचारको प्रच्छन्न प्रस्तुति कति वजनदार हुन्छ भन्ने नै धेरै राजनीतिक  व्यक्तित्वहरूले बुझेका छैनन् । यस खालका अनेक विचार, चिन्तन र प्रस्तुतिका अभ्यासबाट खारिएका राईसित अनेक कोमल तर प्रभावकारी क्षमता रहेको छ ।   

मोदनाथ प्रश्रित र जेबी टुहुरे, युद्धप्रसाद मिश्रलगायत सर्जक तथा कलाकारका लेखन र कला  बराबरको प्रभाव कसैले दियो ? खोकु छिन्ताङ दुख्यो कि …गीतका रचयिता गणेश इजम, प्रसिद्ध सङ्गीतकार शिव सुब्बा, हर्सु सुब्बा, कुन्ती योञ्जन  हुँदाका सांस्कृतिक नगरी धरान आज किन ओइलायो ? असल सर्जकका कृति प्रकाशनका लागि सहयोग माग्दा र ध्यानाकर्षण गराउँदा कतिपय नेताका चरम र सरम लाग्दा हेलाहोचो, अपमानको प्रत्यक्ष साक्षी यो लेखक पनि हो । 

प्रतिभा गहना पनि हो । त्यसैले गहना लगाउन जान्नुपर्छ । सिरमा लगाउने गहना घुँडामा लगाइयो भने के हुन्छ ? एक मुस्कान र मिजासले लाखौँ मुस्कान र मिजास पाइन्छ । 

सादा जीवनको प्रभाव कति प्रभावशाली हुन्छ भन्ने कुरा भारतीय मनीषि महात्मा गाँधी हेरे हुन्छ । भए भरमा भडिकाला लुगा,सुनका गरगहना लगाएर आधारभूतका जनतासित गएर पार्टीको प्रभाव अझ उल्टो हुन्छ । मुख भए मुलुक पाइन्छ । यसको अर्थ  श्रोता सहभागी र उपस्थित जनसमुदायको स्तर  अनुसार बान्की पारेर बोल्न जान्नुपर्छ । यो विषय कला संस्कृतिको हो । यस्ता विषयमा पार्टी अध्यक्ष ओली एमाले नेता कार्यकर्ताका लागि ज्ञानका महान् ठेली नै  हुनुहुन्छ । तर त्यस ठेलीलाई सुम्सुम्याएर अँगालो हालेर र सिरानी हालेर ज्ञान पाइँदैन ।  पार्टीमा यस्ता समस्या छन् । स्रष्टा चेत नभएका मानिसलाई संस्कृतको एउटा श्लोकमा— साहित्य सङ्गीत कलाविहीनाः साक्षात् पशु पुच्छविषाण हिनाः अर्थात् साहित्य, सङ्गीत, कला विहीन (महत्त्व नबुझ्ने—नदिने) मानिस सिङ र पुच्छर नभएको पशु हो भनिएको  छ ।    

मुख भए मुलुक पाइन्छ, त्यसै भनेको होइन । जननेता मदन भण्डारी र के.पी.शर्मा ओलीको मुखले गर्दा धेरै उपलब्धि प्राप्त हुन सकेको हो । सुप्रसिद्ध लेखक सौरभले माकुने र झलनाथले सके र भ्याएसम्म ओलीलाई पार्टीमा अन्तिम  दमसम्म छेउकिनारा लगाएको यथार्थ उल्लेख गर्नुभएको छ । देशभक्त विरुद्ध जहिले पनि षडयन्त्र गरिएको छ । बाह्य शक्तिको आदेश र इसारामा यस्ता काम पहिलेदेखि भएका थिए । भारतेली शासकले नेपालका बारेमा माइक्रो म्यानेज्मेन्ट गरेको भनिएको कुराले यसलाई स्पष्ट पार्छ । बाह्य वा आन्तरिक पक्षले कुनै पनि नेताको स्वभावलाई ध्यानमा राखेर काम गर्छ । किनभने भारतेली शासकले बिपी कोइरालालाई भन्दा भनेको र आदेश गरेका कुरा मातृकाप्रसाद कोइरालाले प्रश्न पनि नगरी लुरुलुरु काम गर्ने भएकाले उनलाई विशेष पत्यार गरेको थियो । अहिले हुँदा हुँदा स्वतन्त्र उम्मेदवारलाई हाई हाई गर्ने षड्यन्त्र सुरु भएको छ ।  कथित स्वतन्त्र उम्मेदवारलाई ऐतिहासिक गौरवशाली पार्टी र नेताका विरुद्ध उचाल्न खोजेको स्पष्ट हुन्छ । यस्ता अनर्गल भ्रम तोड्नु अपरिहार्य रहेको देखिन्छ । कुनै पनि खाले अतिवादीबाट एउटा जिम्मेवार नेताले बच्नुपर्छ । अति गोप्य, अति खुल्ला, अन्तर्मुखी र बहिर्मुखी, वाचाल र मौन, निन्दा र प्रशंसा आदि कुनै पनि खाले अतिबाट सही नेता बच्नुपर्छ । 

खगेन्द्र राईले उल्लेख गरेझैँ अगुवा स्रष्टा र संस्कृतिकर्मीहरूले आफूलाई कलाकार र स्रष्टाका साथै राजनीतिक नेतृत्व क्षमता आर्जन र विकसित गर्नुपर्छ । यसको अर्थ मार्क्सवाद र जबज अनुसार आन्दोलनलाई  समग्रता र उचाइका आधारमा हेर्नुपर्छ भन्ने राईको मान्यता स्पष्ट छ । मनोगत र भावनात्मक आग्रहमा चल्ने काम कहिल्यै पनि जाती हुँदैन । सिर्जनात्मक रूपमा  वाद्यवादन र कविता लेखनमा सक्रिय खगेन्द्र राईले आफ्नो प्रतिभाको आयामलाई अब खुम्चिन दिनुहुन्न र सबै क्षमता र प्रतिभालाई कतिलाई आहारिस लाग्दो गरी भए पनि जनसमक्ष प्रस्फुटित गर्नुपर्छ ।    

कार्लमाक्र्स, एङ्गेल्सले कला साहित्य र संस्कृति  सम्बन्धमा दूरदर्शी विचार र धारणाहरू व्यक्त गर्नु भएको छ ।  अझ माओ त कला, साहित्यिक तथा सांस्कृतिक विषयका खुल्ला  किताब नै हुनुहुन्छ । मदन भण्डारी राजनीति, अर्थनीति र साहित्य, संस्कृति नीति राम्ररी बोध गरेका नेता हुनुहुन्थ्यो । 

उहाँले पञ्चायत कालको भूमिगत कालमा नै प्रगतिशील कला, साहित्यिक तथा सांस्कृतिक अभियानलाई  तीव्रता प्रदान गर्नु भयो । यसले नै पार्टीको जग भुईँ तहबाट बलियो बन्न सकेको हो । माओले भनेझैँ जनतालाई राम्ररी सचेत,सबल र तिनलाई  नब्युँझाई गरेको आन्दोलन दुस्साहसवादमा परिणत हुन्छ । र जनता ब्युँझेपछि पनि आन्दोलन गर्न अघि नसर्नु दक्षिणपन्थी हुनु हो ।  

जनतालाई रागात्मक तथा तीव्र रूपमा प्रभावित पार्न, जगाउन र  ब्युँझाउन  प्रगतिशील कलात्मक साहित्य, गीत—सङ्गीत र संस्कृतिको मात्र विशिष्ट भूमिका हुन्छ भन्ने नबुझ्दा समस्या उत्पन्न भएको छ । एउटा सक्षम र कुशल नेताले आफ्नो हरेक उपस्थितिमा एउटा न एउटा रङ्ग तरङ्ग ल्याउन सक्नपर्छ । राष्ट्रिय जनसांस्कृतिक महासङ्घ र यसका घटक संस्थाहरूका पीडा यस लेखकलाई थाहा छ । सबै मोर्चा सङ्गठनभन्दा सांस्कृतिक मोर्चा केमा कमजोर छ ? नारा जुलुस आवश्यक हुन्छ तर त्यत्तिका भरमा मात्र गद्गद् हुनु हुँदैन ।  मान्छे बनाउने काम ठुलो कि मान्छे भेला गर्ने काम ठुलो  हो ? यसको जवाफ कसैसित छ ? सबल पार्टी र यसको बहुमतको सरकार हुँदा पनि महासङ्घ र यस सम्बद्ध नेतृत्व आर्थिक भौतिक रूपमा निरीह बन्नुपर्ने अवस्था रहेको कुरा सबैलाई थाहा छँदैछ । यस्ता अनेकौँ बाह्र—बहत्तर दुःख हैरान खेपेर सांस्कृतिक क्षेत्रको झण्डा फहराउनु चानचुने कुरा होइन । अनि खगेन्द्र राई लगायत नेतृत्वको काम र योगदानलाई कसैले  कम आँक्न मिल्छ र ? मिल्दैन ।

कला, साहित्य र सङ्गीत मानवका मनको मैलो धुने साबुन हो । कार्ल मार्क्सले भने अनुसार पुरानै शासन व्यवस्था र शासकका विचार र संस्कृतिको प्रभाव समाजमा परिरहेको हुन्छ । यसको जबरजस्त कुप्रभाव कम्युनिस्ट नेताहरूमा नै परेको हुन्छ । राजनीतिक परिवर्तन समाजको बाह्य परिवर्तन मात्र हो । यसलाई मार्क्सवादी भाषामा उपरिसंरचनाको परिवर्तन भनिन्छ । राजतन्त्र गयो, गणतन्त्र आयो तर समाजको आधार वा अन्तर तहमा भने सामन्तवादी सोच, विचार, विभेद, मान्यता र दृष्टिकोणहरू दर्सनढुङ्गा सरह जबरजस्त रहेको हुन्छ । यस्ता प्रवृत्तिहरू वा मयल सफा गर्ने साधन प्रगतिशील कला, साहित्य, गीत, सङ्गीत, संस्कृति र शिक्षा नै हो । जब उपर्युक्त विषयलाई हजारबार अध्ययन, मनन र श्रवण गरिन्छ तब त्यसले पुरातन चेत, चिन्तन र संस्कारलाई मन र मस्तिष्कबाट हटाउन सहयोग पुग्छ ।  भनिन्छ नि, राजनीतिले साहित्य र संस्कृतिलाई मात्र होइन कला साहित्यले पनि राजनीतिलाई प्रभावित पार्छ । 

जनविरोधी सरकार, सत्ता, सोच र संस्कृतिलाई परास्त गर्न प्रगतिशील लोकतान्त्रिक कला, साहित्य, सङ्गीत र संस्कृतिको अहम् भूमिका  रहेको हो । तसर्थ खगेन्द्र राई लगायत जनसांस्कृतिक क्षेत्रसहित पार्टी कामको बहुआयामिक जिम्मेवारी सम्हालेका नेताले पार्टीमा प्रभाव बढाउँदै जानु अपरिहार्य हुन्छ । 

(लेखक प्रदेश नं. १ एमाले संस्कृति विभागका प्रमुख  हुनुहुन्छ ।) 

 

 

 

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार  ९ : ३२ बजे