आन्तरिक हवाई उडानमा अत्यधिक चाप

आगामी असोज १ गतेदेखि दसैँका लागि अग्रिम टिकट बुकिङ खुला 

काठमाडौँ । सरकारले आगामी असोज १ गतेदेखि दसैँका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको छ । 

यातायात व्यवस्था विभागका महानिर्देशक टोकराज पाण्डेको अध्यक्षतामा बुधवार बसेको बैठकले आगामी असोज १ गते शनिवारदेखि चाडपर्वलाई लक्षित गरी अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो । 

बैठकले यातायात व्यवसायीले अग्रिम टिकट बुकिङ गर्दा यथाशक्य अनलाइन बुकिङ गर्ने व्यवस्था मिलाउने, अनलाइन टिकट बुकिङ गर्ने यात्रुलाई यातायात व्यवसायीले यथाशक्य छुट वा सहुलियत समेत प्रदान गर्ने निर्णय गरेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले जानकारी दिनुभयो ।

यस्तै, बैठकले अग्रिम टिकट बुकिङ तथा उपत्यकाबाट बाहिरिने र उपत्यका भित्रिने यात्रुवाहक सवारी साधनको यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, उपभोक्ता मञ्च, व्यवसायी र मजदुरसँग सहकार्य गरी प्रभावकारी अनुगमन गर्ने तथा कोभिडको महामारीलाई मध्यनजर गर्दै स्वास्थ्य मापदण्ड अपनाउने निर्णय गरेको छ ।

अनधिकृत काउन्टर र परिचयपत्र नभएका व्यक्तिबाट टिकट बिक्री गर्ने कार्यलाई पूर्णतया निरुत्साहित गर्ने, मुख्य सडकलाई मर्मत सम्भार गरी यातायात सञ्चालनलाई सहज बनाउन सम्बन्धित निकायसँग अनुरोध गरी पठाउने तथा आवश्यक सवारी साधनको व्यवस्था यातायात व्यवसायीले गर्ने निर्णय भएको महासङ्घका महासचिव डेकनाथ गौतमले जानकारी दिनुभयो ।

यातायात आवागमनमा सहज बनाउन खाद्यान्न लगायतका अत्यावश्यक वस्तुको ढुवानी गर्ने बाहेकका ट्रेलर लगायतका ठुला सवारी साधन असोज १५ देखि २२ गतेसम्म नारायणघाटदेखि काठमाडौँसम्म सञ्चालन गर्न रोक लगाउने निर्णय समेत भएको छ ।

यसैगरी, यात्रुवाहक सवारी साधनलाई घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर लागू हुने गरी रुट परमिट खुला गर्ने निर्णय भएको महासचिव गौतमले बताउनुभयो ।

बैठकमा महानिर्देशक पाण्डेसहित काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षक मीरा चौधरी, विभागका निर्देशकहरू राधाकृष्ण खतिवडा र ईश्वरीदत्त पनेरु, यातायात व्यवसायी महासङ्घका अध्यक्ष स्वाँर, वरिष्ठ उपाध्यक्ष सरोज सिटौलालगायत पदाधिकारीहरूको सहभागिता रहेको थियो । 

 

प्रकाशित मिति : २३ भाद्र २०७९, बिहिबार  ७ : २६ बजे