सत्ता गठबन्धन सिट बाँडफाँट कार्यदलले आज शीर्ष नेतृत्वलाई प्रतिवेदन बुझाउने

काठमाडौँ । पाँच दलीय सत्ता गठबन्धनको कार्यदलले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारीको लागि आफूलाई प्राप्त कार्यादेश आज टुङ्ग्याउने भएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार साँझ बसेको कार्यदलको बैठकले चुनावी तालमेल र सिट बाँडफाँटका सम्बन्धमा हालसम्म भएका सहमति र असहमतिसहितको प्रतिवेदन आज बिहान बैठक बसी शीर्ष नेतृत्वलाई बुझाउने राष्ट्रिय जनमोर्चाका सचिव हिमलाल पुरीले जानकारी दिनुभयो । सिट बाँडफाँटका सम्बन्धमा कार्यदल सहमति नजिक पुगेको उहाँले बताउनुभयो ।

दलहरूलाई प्राप्त मतअनुसार र केही राजनीतिक विषयलाई समेत मध्यनजर गरी सबैलाई सम्मानजनक र न्याय हुने गरी सिट बाँडफाँटको खाका बनाइएको छ ।

कार्यदलको बैठक आज बिहान ९ :०० बजे पुनः बस्ने र आफ्नो जिम्मेवारी टुङ्ग्याउने सहमति भएको सचिव पुरीले जानकारी दिनुभयो ।  

गठबन्धनमा आबद्ध दलहरूले आगामी आमनिर्वाचनमा चुनावी तालमेलको खाका बनाउन कार्यदल गठन गरेका थिए । 

नेपाली काँग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला संयोजक रहनुभएको कार्यदलमा काङ्ग्रेसबाट महामन्त्री गगनकुमार थापा र सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं पार्टीका नेता ज्ञानेन्द्रबहादुर कार्की, नेकपा ९माओवादी केन्द्र० बाट महासचिव देव गुरुङ र उपमहासचिव वर्षमान पुन हुनुहुन्छ ।

यसैगरी नेकपा(एकीकृत समाजवादी) बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टी नेपालबाट नेताहरू रामसहायप्रसाद यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट नेताहरू पुरी र आनन्द शर्मा कार्यदल सदस्य हुनुहुन्छ । 

 

प्रकाशित मिति : २३ भाद्र २०७९, बिहिबार  ७ : १९ बजे