एमाले उपाध्यक्ष नेम्वाङसँग फ्रान्सका संसदीय प्रतिनिधिमण्डलको शिष्टाचार भेट 

काठमाडौँ । नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङसँग नेपाल भ्रमणमा आउनुभएका फ्रान्सका संसदीय प्रतिनिधिमण्डल  एन क्याथरिन लुसर, ड्यानियल साल्मन र नेपालका लागि फ्रान्सका राजदूत गिल्स बोर्बाओले मङ्गलवार पार्टी केन्द्रीय कार्यालय, च्यासलमा शिष्टाचार भेट गर्नुभएको छ । 

उहाँहरू बीच भेटमा नेपाल र फ्रान्स बीचको द्विपक्षीय सम्बन्ध र आपसी सहयोग बारेमा कुराकानी भएको थियो । 

भेटमा फ्रान्सका  संसदीय प्रतिनिधिमण्डलले नेपालमा सङ्घीयता र धर्म निरपेक्षता सहितको गणतान्त्रिक संविधान जारी भएकोमा खुसी व्यक्त गर्दै नेपालको विकासमा खास गरी हाइड्रोलिक सहर निर्माणमा फ्रान्स सहयोगका लागि इच्छुक रहेको बताउनुभएको थियो । 

भेटमा उपाध्यक्ष नेम्वाङले पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को परिकल्पना अगाडि सार्दै त्यस दिशामा अगाडि बढ्ने काम सुरु गरेको जानकारी गराउँदै आगामी दिनमा नेपालको विकासमा मित्रराष्ट्र फ्रान्सको सहयोग रहने विश्वास व्यक्त गर्नुभयो । 

भेटमा पार्टीका उपमहासचिव विष्णु रिमाल र परराष्ट्र मामिला विभागका सचिव डा.अन्जान शाक्यको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २२ भाद्र २०७९, बुधबार  ८ : १८ बजे