पहिराले पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको जामुने–खैरेनी सडक अवरुद्ध

दमौली । शनिवार रातिदेखि परेको अविरल वर्षाका कारण पहिरो जाँदा पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको जामुने–खैरेनी सडक आज बिहानदेखि अवरुद्ध भएको छ । 

म्याग्दे गाउँपालिका–६ मौरीओडारमा पहिरो खसेपछि राजमार्ग दुईतर्फी रूपमा अवरुद्ध भएको हो । सडकमाथिबाट पहिरा खसेपछि जामुने–खरेनीटार सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो । 

पहिरो पन्छाउन प्रहरी टोली पुगिसकेको उहाँले बताउनुभयो । “वर्षा भइरहेकाले केही समयमा पहिरो हटाएर राजमार्ग सञ्चालन गराउन प्रयास गरेका छौँ”, उहाँले भन्नुभयो । 

अविरल वर्षाका कारण खोला बढेपछि म्याग्दे –४ थर्पु बजारमा पनि राप्तीखोलाले बाटो अवरुद्ध बनाएको छ । सडकमाथिबाटै खोला बग्न थालेपछि सडक अवरुद्ध भएको स्थानीयवासी भीमलाल श्रेष्ठले जानकारी दिनुभयो । पृथ्वीराज मार्गको अन्य ठाउँमा भने वर्षाका कारण बाटो अवरुद्ध नरहेको प्रहरीले जनाएको छ ।रासस

प्रकाशित मिति : १९ भाद्र २०७९, आइतबार  ९ : ५३ बजे