डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ६ रुपैयाँले बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेशन (आइओसी) बाट पेट्रोलियम पदार्थको खरिद मूल्य बढेर आएको भन्दै गए रातिदेखि लागू हुने गरी डिजेल र मट्टितेलको मूल्य वृद्धि गरेको छ । 

निगम सञ्चालक समितिको बैठकले बिहीबार डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ६ रुपैयाँले वृद्धि गरेको हो ।

मूल्य बढेसँगै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर रु १७८ रुपैयाँ पुगेको छ । यसअघि डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर रु १७२ थियो । पेट्रोल, हवाई इन्धन तथा खाना पकाउने एलपी ग्यासको मूल्य भने हाललाई यथावत् राखिएको छ । 

पेट्रोलको बिक्री मूल्य प्रतिलिटर रु १८१, हवाई इन्धन (आन्तरिक)को रु १९०, हवाई इन्धन (बाह्य)को एक दशमलव ६४ अमेरिकी डलर र एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर रु एक हजार ८०० कायमै छ ।

अन्तर्राष्ट्रिय बजारमा प्रशोधित पेट्रोलियम पदार्थ केही समय घट्दो क्रममा रहेको भए पनि पछिल्लो १५ दिनमा पुनः मूल्य बढ्न थालेको छ । 

आइओसीबाट बिहीबार निगमलाई प्राप्त नयाँ मूल्य सूची अनुसार पेट्रोलमा प्रति लिटर एक रुपैयाँ ३९ पैसा, डिजेलमा छ रुपैयाँ १२ पैसा र  हवाई इन्धनमा आठ रुपैयाँ एक पैसाले बढेर आएको छ । मट्टितेल र खाना पकाउने एलपी ग्यासमा केही घटेर आएको निगमले जनाएको छ ।

एलपी ग्यासमा अझै प्रतिसिलिण्डर ३७८ रुपैयाँ सात पैसा तथा डिजेलमा प्रतिलिटर ११ रुपैयाँ १८ पैसा घाटा छ । निगमलाई पेट्रोलमा दुई रुपैयाँ ८२ पैसा नाफा छ । 

मूल्य समायोजनपश्चात् पनि एक महिनामा रु ६१ करोड घाटा हुने निगमको प्रक्षेपण छ ।

 

 

प्रकाशित मिति : १७ भाद्र २०७९, शुक्रबार  ७ : २२ बजे