गठबन्धनमा सिट बाँडफाँटबारे गहन छलफल, सङ्ख्यामा सहमति हुन सकेन

काठमाडौँ । पाँच दलीय सत्ता गठबन्धनको बैठकमा आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सिट बाँडफाँटका विषयमा बिहीबार पनि गहन छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटरमा बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकमा सिट बाँडफाँटबारेमा गम्भीर रुपमा छलफल भए पनि कुनै निष्कर्षमा पुग्न नसकिएको जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिनुभयो । 

सो विषयमा बैठकमा निरन्तर छलफल भए पनि सङ्ख्यामै कुरा अड्किएको र छिट्टै निष्कर्षमा पुगिने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

यसअघि बैठकमा नेपाली कांग्रेसले एक सय, नेकपा (माओवादी केन्द्र)ले ६०, नेकपा (एकीकृत समाजवादी)ले ४०, जनता समाजवादी पार्टी नेपालले ३२ र जनमोर्चाले दुई सिटको दाबी गरेका थिए ।  सो विषयमा सहमतिका लागि शीर्ष नेतासहितको बैठकमा नियमित छलफल हुँदै आएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७९, शुक्रबार  ७ : १४ बजे