महङ्गी दिने तर मल बीउ नदिने सरकारविरुद्ध आन्दोलन गर्ने तयारी

काठमाडौं । आम सर्वसाधारण किसानमाथि महङ्गीको भार थोपर्ने तथा समयमै मल तथा बीउ उपलब्ध गराउन नसक्ने वर्तमान सरकारविरुद्ध किसानहरू आन्दोलित हुने तयारी गरेका छन् ।

सरकारले अरबौं रूपैयाँ बजेट कृषिमा छुट्याउने गरेको भए पनि किसानलाई कुनै राहतको आभाष दिलाउन नसकेको भन्दै गाउँसुधार तथा कृषकहित संरक्षण मञ्च नेपालले सरकारविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएको हो ।

सरकारले वार्षिक बजेटमार्फत कृषिको शीर्षकमा अरबौंको बजेट बिनियोज गर्ने गरेको भए पनि समयमै मल नपाउँदा किसान मर्माहत हुने गरेको भन्दै मञ्चले कृषिका लागि विनियोजन गरिएको बजेट सत्तामा बस्नेहरूको ठेक्कामा पुग्ने गरेको आरोप समेत लगाएको छ ।

‘सरकारले किसानहरूलाई महङ्गी थुपारिदिएको छ, आज किसानहरूले मल किन्न पाएका छैनन्, सरकारले अनुदानको कुरा गर्छ, समयमै मल दिँदैन्, मल पाइहाले पनि पर्याप्त छैन् । डीएपी चाहिने बेला युरिया पाइँदैन्,’ गाउँसुधार तथा कृषक हित संरक्षण मञ्च नेपालका अध्यक्ष दुर्गाप्रसाद खनालले भने ।

उनले सरकारले अरबौं रूपैयाँ बजेट कृषिमा छुट्याए पनि समयमै मल नपाइने भन्दै किसानका समस्या जहाँको त्यहीँ रहेको गुनासो समेत गरेका छन् । किसानहरूले सरकारको बेवास्ताका कारण भारतबाट मल ल्याउन बाध्य भएको गुनासो पोख्दै उनले विदेशबाट ल्याएको मल नै नक्कली पर्ने गरेको बताएका छन् ।

किसानले खेती गर्ने औजार, मल, बीउ महङ्गो भएको उल्लेख गर्दै उनले संस्था नै स्थापना गरेर राज्यलाई दबाब दिन खोजेको स्पष्ट पारे । उनले सरकारसँग कृषिसम्बन्धी सबै वस्तुको मूल्य निर्धारण गरिदिन आग्रह गरे । मलहरूको उद्योग नेपालमै खोल्नपर्नेमा उनले जोड दिए । सरकारले शेयर उठाएर भए पनि उद्योग देशभित्रै चलाउनुपर्ने उनको भनाइ थियो । विदेशी सामान आयात गर्दा किसानको अवस्था जस्ताको तस्तै रहने भन्दै उनले नेपालमा नै उद्योग खोल्नुपर्नेमा जोड दिए ।

उनले कृषिमा प्रयोग हुने साधन चलाउनेहरूलाई पनि इन्धनको रेट कायम गरिदिन र उत्पादनमा पनि दरभाउ कायम गरिदिन सम्बन्धित निकायसँग आग्रह गरे । किसानको समस्यामा लड्दै आएका खनालले मल तथा बिउ सस्तोमा पाउने व्यवस्था तत्काल लागु गर्नुपर्नेमा जोड दिए । उनले आफ्नो संस्थाले देशभरका किसानहरूको अवस्था बुझेर राज्यलाई झकझक्याउने गरेको समेत सुनाए ।

उनले किसानलाई यसैगरि दुःख दिइरहने हो भने देशभरका किसानहरू आएर आन्दोलन गर्न बाध्य हुने चेतावनी दिए । अब किसानहरू एकजुट हुनुपर्ने भन्दै आफ्नो समस्या उजागर गर्न आफुहरूसँग जोडिन उनले सम्पुर्ण किसानहरूलाई आग्रह गरेका छन् ।

किसानहरूलाई विभिन्न दलका नेताहरूले ठगिरहेको उल्लेख गर्दै आगामी चुनावमा उनीहरूलाइै नै जिताउने हो भने किसानहरू अझै झन् जर्जर अवस्थामा पुग्ने र किसानका समस्या कहिल्यैपनि समाधान नहुनेतर्फ सचेत गराए ।

देशको अर्थतन्त्रको मेरुदण्ड कृषि भए पनि राज्य उक्त क्षेत्रबारे व्यवहारिक र जिम्मेवार हुन नसकेको आरोप मञ्चको छ । कृषिले नै नेपाली जनताको उन्नती र प्रगतीको ढोका खुल्नेबारे राज्यले सैद्धान्तिक तरिकाले स्वीकारे पनि व्यवहारिक रूपमा अन्यन्तै ढिलासुस्ती गरेको अध्यक्ष खनालको भनाइ छ ।

खनालले नेपालका ६५.६ प्रतिशत जनसंख्या कृषिमा आधारित रहेको उल्लेख गरे । कृषिमा आधारित रहने ठुलो हिस्सा अन्यौल र अस्तव्यस्त परिस्थितिमा गुज्रिरहेको उनको भनाइ थियो ।

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहिबार  ६ : ०६ बजे