असहाय, अशक्त र अपाङ्गता भएका व्यक्तिलाई घरदैलोमै नागरिकता

दार्चुला । जिल्ला प्रशासन कार्यालयले असहाय, अशक्त र अपाङ्गता भएका व्यक्तिलाई घरदैलोमै नागरिकता दिन थालेको छ ।

नागरिकताबाट बञ्चित भएका यस्ता व्यक्तिको खोजी गरी घरदैलोमै पुगेर नागरिकता दिन थालेको हो । लामो समयदेखि हिँड्डुल गर्न नसक्ने भएर नागरिकता पाउनबाट बञ्चित रहेका महाकाली नगरपालिका–३ बाजका ६६ वर्षीय जयसिंह महरलाई नागरिकता प्रदान गरिएको सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउदले जानकारी दिनुभयो ।

“वडा कार्यालयको जानकारीअनुसार महरलाई घरमै पुगेर नागरिकता वितरण गर्न पाउँदा निकै खुसी छौँ,  उहाँले भन्नुभयो, “यस्ता व्यक्ति अझै जिल्लामा हुनसक्ने भएकाले सूचना दिएर सहयोग गराँै । यसअघि गत भदौ ८ गते सोही  नगरपालिका–८ धापका ४९ वर्षीय रामदत्त जोशीलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको थियो । विगत १५ वर्षदेखि प्यारालाइसिस भएर नागरिकता पाउन नसकेका जोशीलाई सहायक प्रजिअ साउदको टोलीले नागरिकता दिएको हो । जिल्ला प्रशासनले जिल्ला सदरमुकामसम्म आउन नसक्नेलाई घरैदैलोमै नागरिकता प्रदान गरिने जनाएको छ । 
 

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहिबार  ११ : ५१ बजे