बाढीको स्थितिमा सुधार

संयुक्त राष्ट्रसङ्घका महासचिव पाकिस्तान जाने

संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेस आगामी हप्ता पाकिस्तानको भ्रमणमा जानुहुने भएको छ ।

पाकिस्तानमा केही हप्ता यतादेखिको बाढीपहिरोले पु¥याएको क्षतिका समयमा पाकिस्तानी सरकार र त्यहाँका नागरिकलाई सान्त्वना दिनका लागि महासचिव एन्टोनियो गुटरेसले पाकिस्तानको भ्रमण गर्न लाग्नुभएको महासचिव गुटरेसका प्रवक्ताले जानकारी दिनुभएको छ ।

 उहाँ आगामी सेप्टेम्बर ९ मा पाकिस्तान पुग्नुहुने उहाँका प्रवक्ता स्टेफन डुजारिकले जानकारी दिनुभएको हो । 

महासचिव गुटरेसले पाकिस्तानमा बाढी र पहिरोबाट सबैभन्दा बढी प्रभावित क्षेत्रको भ्रमण गर्नुहुने पनि उहाँले जानकारी दिनुभएको हो ।

पाकिस्तानका विभिन्न भागमा परेको अविरल वर्षासँगै आएको बाढीपहिरोमा परेर एक हजार एक सयभन्दा बढी मानिसको मृत्यु भएको छ ।

यो बाढीमा परेर तीन करोड ३० लाखभन्दा बढी मानिस प्रभावित भएका छन् । यहाँ गएको हप्तादेखि अविरलरुपमा वर्षा भएको छ । 

राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका अनुसार पाकिस्तानमा बितेका दुई महिनामा वर्षाजन्य दुर्घटनामा परेर ती व्यक्तिको मृत्यु भएको हो । यहाँका एक हजार छ सय ३४ जना घाइते अस्पतालमा रहेका छन् । 
 

प्रकाशित मिति : १५ भाद्र २०७९, बुधबार  ४ : ४४ बजे