‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

असन्तुष्ट कमरेडहरूका नाममा 

नेपाल कम्युनिष्ट पार्टी (एमाले) परिवारभित्र असन्तुष्टिका आवाजहरू यस लेखकले पनि सुन्ने गरेको छ ।  कतिपय  असन्तुष्टि देश जनताको हितसित सम्बन्धित पाइन्छन् । मैले सम्पर्क गरेका बुद्धिजीवी, अगुवा नेता, कार्यकर्ता, प्राज्ञ र स्रष्टा लगायतमा चरम असन्तुष्टि पनि सुन्ने गर्छु । अब म एमाले पार्टीमा कुनै हालतमा रहन्न । ‘…….दिनपछि पार्टीको संगठित सदस्यता पनि त्यागिदिन्छु’ भनेको पनि सुनेको छु । । कतिपय नेताका अमैत्रीपूर्ण बरव्यवहार देख्दा पनि दिक्क लाग्छ भन्छन् । ‘सल्लाहकार, विभिन्न विभाग लगायत कुनै पनि ठाउँमा राखिएन । पार्टीका लागि धेरै कामहरू गरियो । तर  धेरै बेवास्ता भयो । कसैले सोधपुछ पनि गर्दैन । यति साह्रो बेवास्ता सहेर बसिन्न’ भन्ने खालका आवाजहरू पनि सुनिन्छन् । 

तर  एमाले पार्टी र यसका कतिपय नेताका कारण आफै पनि क्षणिक रूपमा असन्तुष्ट हुनु पर्ने कारण देख्दिन । पार्टी अध्यक्ष केपी शर्मा ओलीले ‘तमाम नेता, कार्यकर्ता र जनताको शिर निहुराउने काम यस पार्टीले गर्न दिने छैन, यस पार्टीमा लागेबापत कसैलाई पनि लज्जित हुनुपर्ने छैन’ भन्नुभएको छ । यो धेरै महत्वपूर्ण कुरा हो । अरु पार्टी र नेताका बेहोरा हेर्दा र तिनले सरकार वा प्रतिपक्षमा बसेर काम गरेको देख्दा एमालेमा लाग्नेहरू पछुताउनु पर्ने कुनै कारण देखिन्न । औपचारिक समारोहमा ¥यालसिँगान काड्ने नेता र सरकार त एमालेको छैन नि । सबै खालका लाज, घीन र सरमलाई चरम  बेवास्ता गर्ने बेसोमति नेता र सरकार पनि एमालेको थिएन र छैन । ‘महाकाली सन्धिमा कमजोरी भएको हो’ भनेर ओलीले नै भन्नु भयो । तर सन्धिलाई समझदारी भनेर टनकपुरलगायत सबै नदी भारतलाई बेच्न खोज्ने काम त एमालेले गरेको छैन । काम गर्दा अनुभवका कमीले पनि केही कमजोरी हुन्छन् । यस्ता कुरा स्वीकार्नु पनि ठूलो कुरा हो । 

प्राज्ञ ज्ञानमणि नेपालले उहिल्यै पूर्व प्रधानमन्त्री मातृकाप्रसाद कोइरालासित एकान्तमा अत्यन्त रुष्ट हुँदै तपाईले कोशी सम्झौता गर्दा किन घात गर्नुभयो ? त्यो पुल किन भारतीय सीमा नजिक बनाउने सम्झौता गर्नुभयो ? भन्ने प्रश्न गर्नुभयो । मातृकाले भारतबाट धोका भयो, चक्रघट्टी चतरा नजिक बनाउने समहमति भएको थियो, तर हतार हतार भारतले पुल बनाउने सबै निर्माण सामग्री बोर्डर छेउमा ढुवानी गरेर काम सुरु गर्यो । यसरी मिचाहा काम गर्दा यस्तो भएको हो भन्नुभएछ । यसरी अनेक जालसाझी तरिकाले नेपालको विकास निर्माण, उन्नति प्रगतिका लागि कपट राखेर काम गरेका धेरै घटना छन् ।

पुष्पलाल, मनमोहन र सहाना प्रधान जस्ता नेता अरु कुनै पार्टीमा तपाईँले देख्नुभएको छ ? अहिले उहाँका समकालीन कम्युनिष्ट नेता आफ्नी प्रिय पत्नीलाई मन्त्री बनाउन पार्टीलाई नै च्याँखे थापेको देख्नुभएको छैन ? दायाँ बायाँ अतिवादी उग्रवादी सोचका कारण तिनले बर्बाद पारेको देख्नुभएको छैन ? नेकपा एमाले इटा भट्टाको ज्वालामुखी जस्तो चिम्नीमा तराइ मधेशका निरपराध र  निर्दोष १३ जना नेपालीलाई जिउँदै पोल्ने पार्टी होइन र यस्ता जघन्य अपराधीलाई बचाउन खोज्ने पार्टी होइन । सशस्त्र संघर्षलाई रहर र लहडको विषय बनाएर देशको जनधनको अपार क्षति एमालेले गरेको छ ? पाँच हजार जनता त मैले मारेको भनेर खुल्ला नीच र निकृष्ट धमास दिनेलाई तपाईँले नेता भन्नु त परेको छैन नि ! ‘खोदा पहाड, निकला चूहा’ भनेझैँ दस बर्से सशस्त्र युद्धले के के न गर्यो भनेर फुटानी गर्नेको खुट्टी देखेर अझै थाहा पाउनुभएको छैन ? अझ ‘भारतको अहितमा हामी काम गर्ने छैनाँै’ भनेर लिखित तमसुक गर्नेलाई त तपार्इँले पार्टी अध्यक्ष भन्नु र मान्नु पर्या छैन नि ! यी त फूलको सङ्गतले देउताका सिरमा पुगेका मात्र हु्न् । यी त नेपाललाई रसातलमा पुर्याउने कुनयितका भारतेली शासकका भरिया हुन् । एमाले नेता, कार्यकर्ता र जनताले  यस्ता कुलाङ्गार भरियाका खेताला त हुनु परेको छैन नि  ! अनि किन के कारणले आफै मरिचझैँ चाउरिनु कमरेड ?  तपाईको नेताले जनयुद्धका लडाकाहरूको पारिश्रमिक लुटेको त छैन नि ! ‘राष्ट्रपतिभन्दा राजा नै ठीक’ त भनेको छैन नि ! नेकपा एमालेमा ‘नेपाल देश खारेज गर्नुपर्छ’ भन्ने चरम राष्ट्रघाती नेतृ त छैनन् । ‘महान् जनयुद्ध’देखि जातीय राज्यको वकालत गर्दै कम्युनिष्ट पार्टीको औचित्य नै नभएको निष्कर्षमा नेताका कतिपय प्यादाहरू तिनैलाई देवी देउताझैँ गरिरहेका छन् र  तिनले एमाले र ओलीलाई सपनामा पनि सराप्छन् । जननेता मदन भण्डारी जस्तो नेता कुन पार्टीमा छन् ?  उग्रवादी  र चरम अवसरवादी कुरा कथुर्ने कम्युनिष्ट नेता आज मदनकै पथमा हिँडिरहेका छन् । दुनियाँका कम्युनिष्टहरू हँसिया हथौडा झण्डा बाटैमा फ्याँकेर भागाभाग गरेको बेला भण्डारी र एमालेले गर्दा नेपालमा कम्युनिष्टको झण्डा फहराएको हो ।  

त्यतिबेला नेपालमा पनि डरले लुगलुग कामेर दुला पस्ने उग्रवादी कुरा कथुर्ने नेता हामीले  चिनेकै छौँ  र  एमाले पञ्चायत विरोधी सडक सङ्घर्षका बेला टाउकोमा कात्रो बाँधेर हिँड्दा सडक पेटीमा रमिता हेरेर बस्नेहरू यिनै उग्रवादी अराजक होइनन् र ?  जो अहिले एमाले र ओलीलाई फुटेका अाँखाले पनि देखिसहँदैनन् । ओलीले नेपालका सबै कम्युनिस्ट नेतालाई  उपप्रधानमन्त्री र मन्त्री बनाएर सकेसम्म मित्र शक्तिका रूपमा समेट्न खोजेको होइन र ? तर अहिले तिनीहरू एमाले र ओलीलाई सत्रुवत् व्यवहार गरिरहेका छन् र तिनका मित्र र हितैषी त प्रतिक्रियादी पो रहेछन् । तिनीहरू काँग्रेसको टाङ्मुनि छिरेर जात्रा गरिरहेका छन् । भँडार खनेर आँगन पुर्ने र छँदा खाँदाको घरमा आगो झोस्ने पार्टी र नेता पनि कम्युनिष्ट हुन्छन् ? यस्तो गद्दार पार्टी त एमाले होइन नि ! अनि किन निराश ?

अर्काको बुइ चढेर फुईँ गर्ने मोहन विक्रम सिंहका कथित क्रान्तिकारी कम्युनिस्टको उटपट्याङ सुन्नुपरेको छ । जबजलाई हरियो घाँसमा लुकेको सर्प भन्ने कथित क्रान्तिकारी अहिले प्रतिस्पर्धाको राजनीतिमा लतारिन बाध्य भएका छन् र मदन भण्डारीले कार्ल माक्र्सले सार रूपमा  भनेझैँ नेपाली कम्युनिष्ट आन्दोलनलाई तलबाट वा भुई तहबाट पञ्चायत कालदेखि नै उठान गर्दा नै पार्टी जनव्यापी र राष्ट्रव्यापी बन्न गएको हो । माथिबाट थोपरेका भरमा ‘८० प्रतिशत नेपाली भूभाग कब्जा गरेका छौँ’ भन्नेहरूको स्थिति जगजाहेर छ । ओलीको हास्यविनोदी प्रवचन सुनेर नेता पनि हाँस्लान् तर त्यही हास्यमा कति तीखा  गम्भीर व्यङ्ग्य वाण बर्सेका छन् त्यसलाई कतिले बुझ्लान् ?  ऐतिहासिक प्रथम सहिद बाँकावीर, मनुस्मृतिमा पछिल्लो अवधिमा लेखिएका महिला विभेदका श्लोकहरू, दशरथको नामकरण कसरी भयो ? अनेक ज्ञानगुनका गम्भीर विषय जान्ने र स्मरण शक्ति तेज भएको ओलीजस्तो नेता कुनै पार्टीमा कहीँ देख्नु भएको र सुन्नु भएको छ ? देशलाई चरम दोहन गरेर  आफ्ना तीन पुस्ताका लागि धनसम्पत्ति जोड्ने हरामी नेताका अगाडि आफ्नो चलअचल सम्पत्ति ट्रष्टमा जम्मा गर्ने ओली जस्तो नेताका छहारीमा बस्न पाउनु धेरै जाती हो । 

मैले उहाँ लगायत सबै नेताहरूलाई  मिहिन रूपमा पढ्ने गरेको छु । ओली जत्तिको मनकारी मिलनसार, मृदुभाषी, मैत्री भावनाको तथा अत्यन्त प्रभावशाली नेता अरु पार्टीमा देखिएको छैन । उहाँ सिर्जना, लेखकमैत्री भावना राखेको मैले पनि अनुभव गरेको छु, तर अरु प्रायः नेताहरू  पढ्दैनन् । पढिहाले पनि सामान्य सकार भन्न पनि कप्ट्याइँ गर्छन् । पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पनि भेट्ता  लेखन सम्बन्धी कुरा गरिरहनु हुन्छ । 

नेपालका उग्रवादी र चरम अवसरवादी कम्युनिस्टका लागि एमाले महान् सकारात्मक शिक्षा हो । ज्येष्ठ नागरिकलाई नौ महिने सरकारका पालामा भत्ता दिएपछि कम्युनिस्टले बुढाबूढी मार्छ भन्ने जस्ता काँग्रेसी प्रतिक्रियावादीका तमाम भ्रम समाप्त भए । नत्र यी कथित कम्युनिस्ट नेतालाई त्यही भ्रम निवारण गर्नै  सक्ने थिएनन् । ‘सरकार बनाउनु, मन्त्री माननीय हुनु हिलामा पस्नु हो’ भन्ने बबुराहरूले यस्तो मौका कहाँ पाउँथे ? मात्रात्मक परिवर्तन केहो र  गुणात्मक परिवर्तन मात्र परिवर्तन हो ? भन्ने कठमुल्लावादीको चेत र चिन्तनलाई सुधार्न एमाले र ओलीले नै योगदान गरेको हो नि ! मदनले भनेझैँ अवसर पाइपाइकन इमान्दार हुनुपर्छ भन्ने मान्यता हुँदा नै जस्तासुकै परिस्थितिको दृढतापूर्वक सामना गर्न सकिन्छ । 

नौ महिने सरकार अर्थात् नमुना सरकार एमाले बाहेक कसैले बनायो ? बनाउला ? भारतले गरेको नाकाबन्दीलाई नाकबन्दीसम्म भन्न नसक्ने पार्टी र तिनका नेताका अगाडि तपाईँ लुम्रुक्क हुनुपर्ने कुनै कारण नै  छैन । चुच्चे नक्सा  नेपाली नक्सामा आबद्ध गर्ने सरकार र पार्टीको नेता र कार्यकर्ता हुँदा किन सरम मान्ने । 

विगत लामो समयदेखि विराटनगरमा अखडा जमाएर बसेको भारतीय सैनिक टुकडी ओली सरकारले मात्र हटाउन सक्यो । यो गौरवबोध गर्ने विषय होइन ? महाकाली नदीमा जयसिंह धामी भारतीयका कारण मारिँदा चुइक्क नबोल्ने पार्टी र सरकारका कतिपय नेता र कार्यकर्ता छाती तन्काएर बीच सडकमा हिँडिरहेका छन् । त्यस्तो त एमाले नेता र कार्यकर्ताले बेहोर्नु परेको छैन नि ! अनि किन निराश हुनु कमरेड !? 

मित्र राष्ट्रहरूले नेपाललाई उपहार स्वरूप प्रदान गरेका सयौँ उत्पादन, उपार्जन र रोजगारीमूलक उद्योगहरू माटोका भाउमा बेचेको बात एमाले र नेतालाई लागेको छैन । अर्थमन्त्री जनार्दन शर्मा जस्ता बजेट निर्माणमा बाह्य व्यक्तिलाई प्रवेश गराई करका दर परिवर्तन गर्ने जस्ता अपराध पनि एमालेले ढाकछोप गर्नुपरेको छैन । जानी नजानी गल्ती भए स्वीकार्ने पार्टी एमाले हो । तर एमालेको सिद्धान्त र व्यवहारमा जनघात, राष्ट्रघात, मित्रघात  छैन । ओलीले भनेझैँ मित्रलाई मित्रको आँखाले हेर्छ । एमाले सकेसम्म सबैलाई सच्याउन र सुधार्न चाहन्छ । काँग्रेसले मित्र शक्ति अझै चिन्न र जान्न सकेन । एमाले सितको सहकार्य काँग्रेसलाई नाफै नाफा छ । २०४६ सालको आन्दोलनका तमाम उपलब्धि एमाले र मदन भण्डारीका कारण काँग्रेसले पनि पाउन सकेको हो । २०१७ सालमा दुई तिहाइ बहुमतको काँग्रेसको विघटित  संसद् पुनः स्थापना गर्ने माग राख्ने पुष्पलाललाई र २०४६ पछि कम्तीमा दस वर्ष सहकार्य गरेर अघि बढौँ भनी प्रस्ताव राख्ने मदन भण्डारीलाई नचिन्दा त्यसबेला समस्या उत्पन्न भएको हो । तत्कालीन प्रतिपक्षी दल एमालेको सबलता र खबर्दारीका  कारण तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले फुक्काफाल मनलाग्दी गर्न नपाएका हुन् । तर अहिले देउवा नेतृत्वको गठबन्धन सरकारमा रहेका कुसंगतियाका कारण काँग्रेस पतनोन्मुख हुँदैछ । 

त्यसैले एमालेका तमाम नेता र कार्यकर्ता तथा जनताले यस पार्टीमा लागे वापत आफूलाई पराप्नु पर्दैन, बरु यसमा लागे वापत गर्व गर्नुपर्छ । गर्नु के छ र तपाईको सकारात्मक कुराले जन समाजमा राम्रो प्रभाव नै पर्छ । हिमाल, पहाड बोक्नु परेको छैन, खालि एमाले र यसको नेतृत्वको सरकारले देश र जनताका हितमा गरेका कामहरूको चर्चा गर्नु त हो नि । तर एउटा कुराचाहिँ तमाम एमाले नेताले सुन्नु र बुझ्नुपर्छ । नेताहरूले ठस्कान सेवालाई तुरुन्त सच्याउनुपर्छ र मुस्कान सेवामा आउनुपर्छ । 

ओलीले भनेझैँ विनम्र, मृदुभाषी, सरल, सादा, अध्ययनशील तथा जनमैत्री बानी बेहोरा सबै नेताहरूमा हुने हो भने पार्टीमा थप नवीन जाँगर र उत्साह पलाउँछ । यस्ता कुराले पार्टी भित्रका अनेक खालका आन्तरिक अन्तर्विरोध हटाउन मद्दत पनि पुग्छ । यो पङ्क्तिकार पनि धेरैजसो एमाले नेताका बानी बेहोरा र बोली चाली रहन सहन पटक्क मन पराउँदैन । 

आफूलाई स्वतन्त्र लेखक भन्ने प्रा.डा. अभि सुवेदी भित्तो लागेर ओली विरोधी बिलकुल अयथार्थ राखिरहनु भएको छ  । सुवेदी प्रचण्डको गुरु भनेर गर्व गर्नु हुँदो रहेछ । लेन्डुप दोर्जेको गुरु हुँ भनेर के गर्व गर्नु होला ? अर्का प्रा. कृष्ण खनाल ओली विरोधी कपटपूर्ण धारणा प्रवाह गरिरहेका छन् । कतिपय ठूला मिडिया समेत भ्रामक दुष्प्रचारमा छन् । तिनलाई कलमले नै जवाफ दिऊँ, सामाजिक सञ्जालका प्रतिवाद खप्टिऊँ । अब झन् एमालेले एकमतले ओलीलाई भावी प्रधामन्त्रीको उम्मेदवार घोषणा गरेको छ । अब देशी विदेशी प्रतिक्रियावादी एक स्वरले आक्रामक दुष्प्रचारमा लाग्ने छन् । प्रधानमन्त्री हुँदा ओली केन्द्रित फतुर लेखेर केही लेखन्तले रोजगारी पाएका थिए । अब फेरि एक झमट तिनले लेखोटबाट राम्रै आमदानी गर्ने छन् । कम्तीमा देशभक्त, प्रगतिशील लोकतान्त्रिक लेखक र सर्जकहरूले देशकाखातिर बरु केही लेखौँ कि ?    

प्रकाशित मिति : १५ भाद्र २०७९, बुधबार  ९ : १३ बजे