सत्ता गठबन्धन सिट बाँडफाँट कार्यदलको बैठक आज पनि बस्दै

काठमाडौँ । नेपाली काँग्रेस नेतृत्वको सत्ता गठबन्धन सिट बाँडफाँट कार्यदलको बैठक आज पनि बस्दै छ ।

आगामी ४ मङ्सिरमा हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिट बाँडफाँटका लागि जारी प्रयासलाई टुङ्गोमा पुर्‍याउनका लागि कार्यदलको बैठक आज पनि बस्न लागेको हो । 

प्रतिनिधिसभाका १ सय ६५ तथा प्रदेशसभाका ३ सय ३० सिटका लागि सत्तारुढ दल बीच सिट बाँडफाँटका लागि प्रयास भइरहेको भए पनि तीन साता नाघिसक्दा पनि टुङ्गोमा पुग्न सकेको छैन । 

नेपाली काँग्रेसले एक सय, नेकपा माओवादी केन्द्रले ६०, नेकपा एसले ४०, जसपाले २०, राष्ट्रिय जनमोर्चाले २ सिटमा दाबी गरेपछि कार्यदल निष्कर्षमा पुग्न सकेको छैन । यद्यपि, शीर्ष नेताहरूको बैठकबाट टुङ्गो लगाउने भने पनि पुनः कार्यदललाई विस्तृत प्रतिवेदन तयार पार्न निर्देशन दिएपछि आज बैठक बस्न लागेको हो । 

 

प्रकाशित मिति : १५ भाद्र २०७९, बुधबार  ७ : ५० बजे