आज गणेश चतुर्थी व्रत पर्व मनाइँदै

काठमाडौँ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन अग्र पूजाको अधिकार प्राप्त गर्नुभएका विघ्नहर्ता भगवान् गणेशको पूजा आराधना गरी मनाइने गणेश चतुर्थी व्रत पर्व आज मनाइँदै छ ।

सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता छ । यस अवसरमा आज उपत्यकाका अशोक विनायक, चन्द्रविनायक, सूर्य विनायक, कमल विनायक, कमलादी गणेशलगायत देशभरका गणेश मन्दिरमा विशेष पूजा गरी गणेशको जन्मोत्सव मनाउने गरिन्छ ।  

शिव पार्वतीका पुत्र गणेशलाई जुनसुकै धार्मिक कर्ममा अग्र पूजाको अधिकार प्राप्त छ । आज हरितालिका (तीज) को व्रत पारायण गरी गणेशको व्रत गर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य एवं धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले राससलाई जानकारी दिनुभयो । 

भाद्र शुक्ल तृतीयाका दिन सुखद दाम्पत्य जीवन तथा सुखशान्तिको कामना गरेका बर्तालुले चतुर्थीका दिन जीवनमा विघ्न नआओस् भनी कामना गर्न गणेश पूजा गर्ने विधान गणेश पुराणमा उल्लेख छ । 

बिहान हरितालिका (तीज) को व्रत समापनका लागि पारायण गरी मध्याह्न कालमा गणेशको पूजा आराधना गरी अर्घ्य दिनुपर्ने विधि रहेको धर्मशास्त्रविद् भट्टराईले सुनाउनुभयो । यस अवसरमा केही मानिसले भने गणेश चतुर्थीको व्रतसमेत गर्छन् ।

मङ्गल चतुर्थीसमेत भनिने यो पर्वलाई नेवार समुदायले भने चथा पर्वका रूपमा मनाउँछ । तिथिको घटबढका कारण चथा पर्व मङ्गलवार नै रहेको समितिले स्वीकृति दिएका पञ्चाङ्गमा उल्लेख गरिएको छ । यस दिन बालबालिकालाई ‘छुस्यामुस्या’ बाँड्ने चलन पनि नेवार समुदायमा रहेको छ । 

विसं २०६५ देखि यस पर्वका अवसरमा चतुर्थीको भोलिपल्ट राजधानी लगायत मुख्य सहरमा गणेश रथयात्रा पनि गरिन्छ । विसं २०६४ मा यसै दिन राष्ट्रिय धर्मसभाको स्थापना भएको थियो । यसैले यस दिन धर्मसभाको स्थापना दिवस पनि मनाउने गरिन्छ ।

 

प्रकाशित मिति : १५ भाद्र २०७९, बुधबार  ७ : २० बजे