खेलाडीलाई तीजले छोएन

काठमाडौँ  । हिन्दू धर्मावलम्बी नारीको महान् पर्व हरितालिका तीजमा कैयौँ महिलाले रमाइलो गरिरहँदा देशका लागि पसिना बगाउने कतिपय खेलाडी भने यतिबेला पशिक्षणमा व्यस्त छन् । 

घरपरिवार, इष्टमित्र, साथीसङ्गीसँग रमाउने रहर हुँदाहुँदै पनि देशको प्रतिष्ठा जोगाउनकै लागि पनि यतिबेला खेलाडी हरेक दिन मेहनत गरिरहेका छन् । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)का कारण विगतका केही वर्ष तीज मनाउन नपाएका खेलाडीका लागि यसपटकको तीज पनि यस्तैयस्तै हुन पुगेको छ । 

नेपाली राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्री भण्डारी (साम्बा) ले तीज पर्वमात्रै नभइ चाडपर्व नै बिर्सिसकेको बताउनुभयो । “खेल क्षेत्रमा आएको सुरुसुरुको वर्षमा परिवार साथीसङ्गी निकै मिस हुन्थ्यो तर अब त इज टु भइसकेको छ, खेलाडीका लागि चाडपर्वभन्दा पनि खेल नै ठूलो हो”, भण्डारीले भन्नुभयो । 

फुटबलका प्रायः सबै खेलाडीको भनाइ यस्तै नै रहेको छ । चाडपर्वभन्दा पनि उनीहरुको मुख्य प्राथमिकता खेल नै रहेको देखिन्छ । राष्ट्रिय फुटबल टोलीका टिम म्यानेजर विन्द्रा देवानले खेलाडी क्लोज क्याम्पमा भएका कारण यसपटकको तीजमा महिला खेलाडीलाई घर पठाउन सम्भव नभएको बताउनुभयो ।

 उहाँले नजिकिँदै गरेको महिला साफ च्यापियनसिपका कारण पनि खेलाडीलाई तीज मनाउनकै लागि भनेर घरमा पठाउन नसकिएको बताउनुभयो । “नेपाली महिलाको महान् पर्व तीज हो, हामी प्रशिक्षणकै दौरानमा खेलाडीसँग शुभकामना आदान प्रदान गर्नेछौँ, खेलाडीमात्र नभई महिला प्रशिक्षकलाई पनि तीज पर्वले छोएको छैन”, उहाँले भन्नुभयो ।  

तीज पर्वभन्दा पनि खेल क्षेत्रबाट नेपालको नाम कसरी उच्च बनाउन सकिन्छ भन्ने विषयमा ध्यान केन्द्रित रहेको नेपाली राष्ट्रिय फुटबल टोलीकी सहायक प्रशिक्षक कमला खरेलले बताउनुभयो । उहाँले यसअघिका वर्षमा भने तीज मनाउँदै आउनुभएको थियो तर यसपटक भने उहाँको तीज खेलाडीसँग बित्नेछ । 

“अघिल्ला वर्षमा परिवार साथीसँग जमघट गरेर तीज मनाउँदै आउने गरेको थिएँ तर यसपटक साफ च्याम्पियनसिपमा नेपालले कसरी गोल्डमेडल भित्र्याउन सक्छ भने विषयमा नै मेरो ध्यान छ”, उहाँले भन्नुभयो ।

उहाँले साफ च्याम्पियनसिपमा प्रायः दोस्रो बन्दै आएको नेपाललाई यसपटक भने पहिलो बनाउने उदेश्यका साथ अभ्यास गरिरहेको बताउनुभयो । तीज पर्वभन्दा पनि घरेलु मैदानमा लगातार दोस्रोपटक आयोजना हुन लागेको महिला साफ च्याम्पियनसिपमा स्वर्ण पदक जित्ने उदेश्यका साथ महिला खेलाडी प्रशिक्षणमा व्यस्त देखिन्छन् ।

सन् २०१९ मा भएको अघिल्लो संस्करणको साफ नेपालले विराटनगरमा आयोजना गरेको थियो । त्यतिबेला पनि नेपाल दोस्रो नै भएको थियो । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले यही भदौ २१ देखि असोज ३ गतेसम्म साफ च्याम्पियनसिप खेल्दैछन् ।
      
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आयोजना हुने उक्त च्यापियनसिपमा आयोजक नेपालसहित भूटान, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश, भारत र माल्दिभ्सको टोली सहभागी हुनेछन् । प्रतियोगितामा सहभागिता जनाउन भूटानी टोली भने नेपाल आइपुगिसकेको छ ।  
    
नेपाली टोलिमा गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बा, अञ्जना रानामगर र उषानाथ छन् । डिफेन्डरमा हीराकुमारी भुजेल, अमृता जैसी, गीता राना, पुनम जर्घामगर, निशा थोकर, समीक्षा घिमिरे र विमला विक छनोट भएका छन् ।  

मिडफिल्डरमा विमला चौधरी, मञ्जलीकुमारी योञ्जन, प्रीति राई, सरु लिम्बू, दीपा राई, दीपा शाही, इन्दिरा राई, अनिता बस्नेत र अनिता केसी छन् भने फरवार्डमा सावित्रा भण्डारी, अमिषा कार्की, रेखा पौडेल र रश्मिकुमारी घिसिङ छन् । 

फुटबल मात्र नभइ अन्य खेलका महिला खेलाडीलाई पनि तीज लागेको छैन । उनीहरुले तीज पर्वभन्दा पनि खेल पर्व नै ठूलो मानिरहेको देखिन्छ । अहिले विभिन्न खेलका महिला खेलाडी नवौँ राष्ट्रिय खेलको तयारीमा जुटिरहेका छन् । 

सागमा लगातार दुई स्वर्ण पदक हात पार्ने उसु खेलाडी निमा घर्तीमगर तीज मनाउनुभन्दा पनि प्रतियोगितामा कसरी स्वर्ण जित्न सकिन्छ त्यसतर्फ उहाँको ध्यान केन्द्रित भएको देखिन्छ । 

गण्डकी प्रदेशमा आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना हुने नवाैँ राष्ट्रिय खेलका लागि उहाँ अहिले बिहान बेलुका नभनि तालिममा व्यस्त हुनुहुन्छ । तीजको खासै चासो नराख्ने उहाँलाई तीज कसरी मनाइन्छ भन्ने थाह नै छैन र हालसम्म उहाँले तीज मनाउने गर्नु नै भएको छैन ।

तीज पर्वमा खासै चासो नरहेको उहाँले हरेक खेलमा आफ्नो पफमेन्स कसरी राम्रो गर्न सकिन्छ भन्नेमा आफनो ध्यान केन्द्रित रहने बताउनुभयो । बाह्राँै दक्षिण एशियाली खेलकुद प्रतियोगितामा १६ वर्षकै उमेरमा उहाँले नेपाललाई स्वर्णपदक दिलाएर नेपाली खेलप्रेमीलाई खुसी प्रदान गर्नुभएको थियो ।

उसुमा दुई स्वर्ण जित्ने निमा हालसम्म एक्ली खेलाडी हुनुहुन्छ । नेपालमा नै आयोजना भएको तेह्राैँ सागमा उहाँले उसुको नानछ्वानमा कुल २० मा १८ दशमलव ९१ अङ्क स्कोर गर्नुभएको थियो । १२ औँ सागमा स्वर्ण जित्दा उहाँको स्कोर १६ दशमलव ९१ थियो । निमाले भन्नुभयो, “फेरि पनि आफनो इफोर्ट स्वर्ण पदकै लागि हुनेछ ।” 

नजिकिँदै गरेको नवाैँ राष्ट्रिय खेलको तयारीका लागि चेस खेलाडीले पनि जमघट गरेर तिज मनाउन पाएनन् । चेस खेलमा सर्वाधिक सफलता हासिल गर्नुभएकी खेलाडी मोनालिसा खम्बुले पनि औपचारिकरुपमा तीज पर्व मनाउने गर्नुभएको छैन । आफू किरात समुदायमा रहेकाले औपचारिक तीज नमनाए पनि विभिन्न सङ्घसंस्थाले मनाउने गरेको तीज कार्यक्रममा भने उहाँले सहभागिता जनाउने गर्नुभएको छ । 

तीजमा स्पेसली खाने र नाच्ने कार्यक्रममा मात्र नभइ महिला सशक्तीकरणमा सबैले जोड दिन आवश्यक रहेको चेस खेलाडी मोनालिसाले बताउनुभयो । त्रिभुवन आर्मी क्लबमा चेस खेलको व्यवस्थापकको जिम्मेवारी सम्माल्नुभएको उहाँले यसपटकको तीजमा खेलाडीलाई तिजको लागि भनेर घर नपठाएको बताउनुभयो ।

उहाँका अनुसार आर्मीले केही दिनअघिमात्र औपचारिक कार्यक्रमको आयोजना गरेर महिला खेलाडीलाई दर खुवाएको थियो । मोनालिसा नेपालको पहिलो राष्ट्रिय महिला चेस च्याम्पियनका साथै अन्तर्राष्ट्रिय चेसमा नेपालको प्रतिनिधित्व गर्ने पहिलो महिला खेलाडीसमेत हुनुहुन्छ । उहाँ चेस सङ्घको सचिवका साथै नेपालको पहिलो महिला अन्तर्राष्ट्रिय चेस आर्विटसमेत हुनुहुन्छ ।  

नवाैँ राष्ट्रिय खेलकुद प्रतियोगिताका कारण अधिकांश खेलका महिला खेलाडी क्लोज क्याम्म नै व्यस्त छन् । तीज पर्वभन्दा पनि आफ्नो टोलीलाई कसरी पहिलो बनाउन सकिन्छ र खेलमा राष्ट्रिय कीर्तिमान कसरी कायम गर्न सकिन्छ भन्ने विषयमा खेलाडीको ध्यान केन्द्रित भएको छ । फेरि नवाँै राष्ट्रिय खेलकुद प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीले एशियाली खेलकुद (एसियाड) मा सहभागिताको मौका पाउने हुँदा पनि खेलाडीलाई चाडपर्वभन्दा पनि आफनो पफमेन्स नै महत्वपूर्ण रहेको छ ।  
 

प्रकाशित मिति : १३ भाद्र २०७९, सोमबार  १ : ५७ बजे