नागरिकता विधेयक किचलो : प्रधानमन्त्री देउवासहित कांग्रेस पदाधिकारी शीतल निवास जाँदै

काठमाडौँ । नागरिकता विधेयकका  विषयलाई लिएर प्रधानमन्त्री देउवासहित काँग्रेस पदाधिकारीहरु सितल निवास जाने हुनुभएको छ । 

संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभाले पारित गरेर प्रमाणीकरणका लागि पठाएको नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित फिर्ता पठाउनुभएको विधेयक फेरी प्रतिनिधिसभाले पारित गरेर राष्ट्रिय सभामा पठाएको छ । 

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वमा उपसभापति पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मासहितको टोली सोमबार दिउँसो २ बजे शीतल निवास जान लागेको हो । 

बालुवाटार स्रोतका अनुसार नागरिकता विधेयक प्रमाणीकरणका लागि कांग्रेस टोलीले राष्ट्रपति भण्डारीलाई आग्रह गर्नेछ । नागरिकता विधेयककै कारण निर्वाचनको माहोल नबढेको निष्कर्षसहित कांग्रेसले राष्ट्रपतिलाई भेटेरै यसबारे छलफल गर्न लागेको हो । राष्ट्रिय सभाबाट विधेयक पारित भए पनि राष्ट्रपतिले जनचासोको विषय रहेकाले ‘होल्ड’ मा राख्ने संकेत आएपछि कांग्रेसले विधेयक प्रमाणीकरण गर्न पहल थालेको हो ।

यसअघि राष्ट्रपति भण्डारीले लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर नेतृत्वको टोलीसँग शीतल निवासमा छलफल गर्नुभएको थियो ।  राष्ट्रपतिले नागरिकता विधेयकमा आफ्नो कुनै स्वार्थ नरहेको बताउनुहुँदै आफूले संविधानअनुसार विधेयक सन्देशसहित प्रतिनिधिसभामा फिर्ता पठाएको स्पष्ट पार्नुभएको थियो । 

प्रकाशित मिति : १३ भाद्र २०७९, सोमबार  १२ : ५६ बजे