केन्याविरुद्ध नेपाललाई शृङ्खला जित्ने अवसर

काठमाडौँ । केन्या विरुद्धको चौथो टी–२० खेलमा आज (सोमबार) नेपाल  जितसहित पाँच खेलको शृङ्खला एक खेल अगावै आफ्नो पक्षमा पार्ने लक्ष्यमा हुनेछ । 

बिहीबार सम्पन्न पहिलो खेलमा ५ विकेट जित निकालेको नेपाल शुक्रवार दोस्रो खेलमा भने १८ रनले पराजित भएको थियो । 

आइतबार सम्पन्न तेस्रो खेलमा केन्यामाथि ४ विकेटको जितसहित नेपालले शृङ्खलामा २-१ को अग्रता लिएको थियो ।

सो खेलमार्फत नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट डेब्यु गरेको ओपनर अर्जुन साउद आफ्नो प्रभाव छोड्न सफल भएका थिए । जसका कारण चौथो खेलमा पनि पवनसँगै अर्जुनले नै नेपालको ओपनिङ सम्हाल्ने सम्भावना प्रबल  छ ।

त्यस्तै, पूर्व कप्तान ज्ञानेन्द्र मल्लले ४६ रन जोडेका थिए । केन्याविरुद्धको पाँच टी२० शृङ्खलालाई नेपालले वरियता सुधारको अवसरमा लिएको छ ।

पाँच टी२० शृङ्खलापछि नेपालले केन्याविरुद्ध तीन एक दिवसीय खेलको शृङ्खला खेल्ने तालिका छ । नेपालले नोभेम्बरमा आइसिसी विश्वकप क्रिकेट लिग टु का लागि नामिबिया भ्रमण गर्दैछ ।

प्रकाशित मिति : १३ भाद्र २०७९, सोमबार  ९ : ५२ बजे