काठमाडौँ । न्यूयोर्कस्थित नेपालको महावाणिज्य दूतावास र न्यूयोर्कस्थित म्यानहट्टन जिल्ला महान्यायाधिवक्ता कार्यालयले संयुक्त रूपमा नेपाली पुरातात्त्विक वस्तु नेपाल फिर्ता गर्ने घोषणा गरेका छन् ।
म्यानहट्टन जिल्ला सरकारी वकिलको कार्यालयमा आयोजित एक समारोहमा कार्यवाहक महावाणिज्यदूत विष्णु गौतमले म्यानहट्टन जिल्ला महान्यायाधिवक्ता एल्भिन एल ब्राग जुनियरबाट नेपालबाट चोरी भएर अमेरिका पुगेको पुरातात्त्विक वस्तु ग्रहण गर्नुभएको थियो ।
एल ब्राग जुनियरले पुरानो नेपाली देवी दुर्गाको मूर्ति गौतमलाई हस्तान्तरण गर्नुभएको हो ।
उक्त मूर्ति लगभग १४औँ शताब्दीदेखि १८औँ शताब्दीको बीचमा काठमाडौँमा बनेको अनुमान गरिएको छ । मूर्ति सन् १९६० मा हराएको थियो ।
उक्त मूर्तिलाई गत मार्चमा एउटा लिलामी घरले लिलामीमा राखेको थियो । लिलामीमा मूर्तिको मूल्य १२ हजारदेखि १८ हजार अमेरिकी डलर राखिएको थियो । उक्त कुरा थाहा पाएपछि नेपाली महावाणिज्य दूतावासले मूर्ति नेपाल फर्काउने प्रक्रिया सुरु गरेको थियो ।
सन् २०२१ मा न्यूयोर्कबाट चोरी भएका तीन वटा नेपाली पुरातात्त्विक वस्तु नेपाल फर्काइएको थियो ।
न्यूयोर्कस्थित महावाणिज्य दूतावासले छिट्टै उक्त मूर्ति पुरातत्त्व विभागसँग समन्वय गरी नेपाल पठाउने जनाएको छ ।
प्रकाशित मिति : ९ भाद्र २०७९, बिहिबार ७ : ३९ बजे
प्रतिक्रिया