नक्खु कारागारका कैदी शिक्षण अस्पतालबाट फरार

काठमाडौं – ललितपुरको नख्खु कारागारमा कैद भुक्तान गर्दै आएका एक कैदी बुधबार त्रिवि शिक्षण अस्पतालबाट फरार भएका छन् ।

शिक्षण अस्पतालमा आँखा जाँचका लागि लगिएका कैदी बुधबार दिउँसो करिव सवा ४ बजेतिर फरार भएका हुन् । फरार हुनेमा रामेछापका भोला बुढाथोकी रहेका छन् ।

नक्खु कारागारका प्रमुख सुवासकुमार लामिछानेले अस्पतालबाटै कैदी फरार भएको बताए । 

झुसेली कीरा परेर आँखामा समस्या देखिएपछि उनको पहिले देखिनै उपचार हुँदै आएको थियो । फलोअपको लागि आज अस्पताल लग्दा उनी भागेका हुन् ।

उनको एक हातमा हतकडी रहेको थियो । उपचारको लागि कैदीबन्दीको एउटा हतकडी खोल्ने गरिन्छ ।

कर्तव्य ज्यानको मुद्दामा कैद भुक्तान गरिरहेका बुढाथोकीलाई २०७२ सालमा नक्खु कारागार ल्याइएको थियो ।

प्रकाशित मिति : ८ भाद्र २०७९, बुधबार  ९ : ०० बजे