नक्सा पासको प्रमाण दिन जिल्ला अदालतलाई बालेन्द्रकाे अल्टिमेटम

काठमाडौँ । काठमाडौं महानगरपालिकाले जिल्ला अदालत काठमाडौंलाई नक्सा पास भएको विवरण पठाउनका लागि पत्र लेखेको छ । महानगरपालिकाले अदालतको भवनको नक्सा पास नभेटिएको जनाउँदै  प्रमाण पठाउन निर्देशन दिएको हो ।

महानगरपालिकाका भवन निर्माण विभागका प्रमुख सुरज शाक्यले भन्नुभयो, ‘हामीले काठमाडौं जिल्ला अदालतको भवनको नक्सा पास भएको अभिलेख भेटाएका छैनौं । नक्सा पासको विवरण पठाउन भनेर पत्र काटेका छौं ।’

महानगरपालिकाले अदालतको भवनको नक्सा पास भएको नपाएको जनाउँदै अदालतलाई त्यसको विवरण पठाउन भन्दै पत्र लेखेको हो । नक्सा पास नभएको पाइए कानुनी रुपमा अगाडि बढ्ने महानगरले जनाएको छ ।

आज न्युरोडमा अनधिकृत रुपमा निर्माण गरिएको संरचना हटाउने क्रममा मेयर बालेन्द्र शाहले नक्सा पास नगरी बनाइएका संरचना हटाउने बताउनु भयो । उहाँले अदालतको भवनको नक्सा पास भएको नभेटिएकाले पत्र काटेको जानकारी दिनुभयो ।

महानगरपालिकाको अभिलेखमा जिल्ला अदालतको भवनको नक्सा पास सम्बन्धमा कुनै पनि कागाजात नभेटेपछि अदालतलाई पत्र काट्दै विवरण पठाउन भनेको हो । भवन विभाग प्रमुख श्रेष्ठले भन्नुभयो, अदालतको नक्सा पास भएको हामीले प्रमाण भेटेनौं। हामीले पत्र काटेर त्यसको जानकारी दिन भनेका छौं । यदि छैन भने कानुनी प्रक्रिया अगाडि बढाउँछौं ।’

प्रकाशित मिति : ८ भाद्र २०७९, बुधबार  ३ : ३९ बजे