महाअभियोग सिफारिस समितिको तेस्रो बैठक बस्दै

काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सम्बन्धित महाअभियोग सिफारिस समितिको बैठक आज पनि बस्ने भएको छ ।

२९ भदौभित्र राणा विरुद्धको महाअभियोगका बारेमा अध्ययन टुङ्ग्याउने प्रस्ताव गरेको सिफारिस समितिको तेस्रो बैठक आज पनि बस्ने भएको हो । बैठक अपराह्न २ः०० बजे बस्नेछ ।

मङ्गलवार बसेको सिफारिस समिति बैठकले जबरालाई यसै साता सफाइ पेस गर्न मौका दिने गरी कार्य तालिका तयार पारेको छ । जसअनुसार राणाले समिति समक्ष यसै साता जवाफ पेस गर्नुपर्ने छ ।

समितिले २९ भदौभित्र जबरामाथि लागेको महाअभियोगका बारेमा अध्ययन प्रतिवेदन बुझाउने कार्य तालिका बनाएको छ । प्रस्तावित कार्य तालिका मङ्गलवारको बैठकमा प्रस्तुत भएको थियो । 

उता, प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भने प्रस्तावित कार्य तालिका समय छोटाएर २५ भदौभित्रै अध्ययन सम्पन्न गरेर प्रतिनिधिसभामा प्रतिवेदन पठाउनुपर्ने अडान राखेको छ । जसमा आजको बैठकमा थप छलफल हुनेछ ।

१ फागुन २०७८ मा प्रतिनिधिसभामा दर्ता भएको जबरा विरुद्धको महाअभियोगउपर अध्ययन गर्ने २१ फागुनमा सिफारिस समिति गठन गरेको थियो । सो सिफारिस समितिले राणाका बारेमा अध्ययन गर्न जिम्मेवारी भने २२ साउनमा मात्रै पाएको थियो । 

प्रकाशित मिति : ८ भाद्र २०७९, बुधबार  ७ : १९ बजे