यस्तो छ एमालेको विशेष सर्कुलर  

काठमाडौं । नेकपा एमालेले विभिन्न पार्टी र समूहबाट प्रवेश गरेका नेता कार्यकर्ताको व्यवस्थापनका लागि विशेष निर्णय गरेको छ । त्यसका लागि एमालेले कार्यविधी नै बनाएर देशभरका कमिटिमा सर्कुलर गर्न लागेको हो । 
एमालेले नयाँ कार्यकर्तालाई जिम्मेवारी दिन र त्यस्को विवरण दुरुस्त राख्न सम्बन्धित कमिटीहरुलाई निर्देशनसमेत दिएको छ ।

स्थायी कमिटीको मंगलबार बसेको बैठकले पार्टी प्रवेश गरेकाहरुको व्यवस्थापन गर्ने र प्रवेशको लहरलाई निरन्तरता दिँदै उनीहरुलाई उपयुक्त जिम्मेवारी दिन आवश्यक निर्णय गरिएको हो । 
बैठकपछि उपमहासचिव पृथ्वीसुब्बा गुरुङले  नवप्रवेशीहरुलाई केन्द्रको अनुमतिमा जिल्ला वा मातहत कमिटीमा मनोयन गर्न र समस्या भएमा माथिल्लो किमटीसँग समन्वय गर्न विशेष निर्देशन दिइएको बताउनुभयो ।
बैठकले पछिल्लो समय विभिन्न दलबाट प्रवेश गरेका केन्द्रीयस्तरका नेताहरुलाई सल्लाहकार र केन्द्रीय कमिटीमा गरेको मनोनयन अनुमोदन गरेको छ ।

जसअनुसार केन्द्रीय सल्लाहकार परिषदमा काठमाडौंका कुलभक्त शाक्य, कास्कीका डिबी नेपाली र बागलुङका नवराज पौडेल हुनुहुन्छ ।  शाक्य र नेपाली जसपाबाट र पौडेल कांग्रेसबाट एमालेमा प्रवेश गर्नुभएको हो । 
त्यस्तै माओवादीबाट प्रवेश गर्नुभएका जीवन गौतम, कांग्रेसबाट प्रवेश गर्नुभएका अमृत राजवंशी र सांसद बृजेश गुप्तालाई केन्द्रीय सदस्यमा गरिएको मनोनयन पनि बैठकले अनुमोदन गरेको छ ।

प्रकाशित मिति : ७ भाद्र २०७९, मंगलबार  ४ : ४७ बजे