कैलालीमा शङ्कास्पद बस्तु सेनाद्वारा निष्क्रिय

धनगढी । धनगढीको ६ लेन सडक खण्डमा फेला परेको शङ्कास्पद बस्तुलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ । 

त्यस्तै गोदावरी नगरपालिका–६ हरैयामा प्रेसर कुकुर जस्तो देखिने शङ्कास्पद बस्तु फेला परेको र घटनास्थलमा प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी वेद जोशीले जानकारी दिनुभयो । 

उक्त शङ्कास्पद बस्तु निष्क्रिय पार्न नेपाली सेनासँग समन्वय भइरहेको प्रहरीले जनाएको छ । 

सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयनको माग गर्दै नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले बन्द आह्वान गरेको दिन आज कैलालीमा शङ्कास्पद बस्तु भेटिएको हो । 

यसैबिच बन्दका कारण कैलालीको जनजीवन प्रभावित भएको छ । बन्दले गर्दा धनगढीबाट पूर्वी तथा पहाडी रुटमा चल्ने सार्वजनिक यातायातका सवारी साधन चल्न सकेका छैनन् । 

यस्तै बजार, व्यवसाय, शैक्षिक संस्था बन्द रहेका छन् । धनगढीमा हलुका सवारी साधन फाटफुट चलेका छन् । 

बन्दलाई मध्यनजर गर्दै जिल्लाभर सुरक्षा व्यवस्था थप सुदृढ पारिएको र सुरक्षा संवेदनशीलता हरेर सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : ७ भाद्र २०७९, मंगलबार  ९ : ४७ बजे