बेनी–जोमसोम सडक अवरुद्ध

म्याग्दी । म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । 

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ मा पर्ने दानाको विभिन्न ठाउँमा आइतबार राति खसेको पहिरोका कारण ७६ किलोमिटर दूरीको सो सडकको म्याग्दी खण्ड अवरुद्ध बनेको हो । 

बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले गुइँठे, जलथले, तितर, दाना, रुप्से क्षेत्रमा पहिरो खसेर सडक अवरुद्ध बनेको जानकारी दिनुभयो । केही ठाउँमा रुख ढलेर पनि सडक अवरुद्ध भएको छ । 

सडक विभाग र आयोजनाका ठेकेदार कम्पनीका उपकरण तथा मजदुर परिचालन गरेर सडक मर्मत थालिएको छ । सडक अवरुद्ध हुँदा मुस्ताङका बासिन्दा, तीर्थयात्री र पर्यटकलाई समस्या भएको छ । 

मुस्ताङमा उत्पादन भएको आलु लगायत कृषि उपज निकासी, दैनिक उपभोग्य र निर्माण सामग्री ढुवानी रोकिएका छन् । 

यसैबीच बर्सातका कारण दानास्थित ज्ञानप्रकाश माविमा भल बाढी पसेर क्षति पुगेको प्रअ शान्त बहादुर नेपालीले बताउनुभयो । शनिवार र आइतबार दाना र आसपासका क्षेत्रमा अत्यधिक वर्षा भएको उहाँले जानकारी दिनुभयो । रासस 

 

प्रकाशित मिति : ६ भाद्र २०७९, सोमबार  ९ : १८ बजे