पोखरामा नवौँ राष्ट्रिय खेलकुदको सचिवालय सञ्चालन हुने

काठमाडौँ । पोखरा रङ्गशालामा नवौँ राष्ट्रिय खेलकुदको सचिवालय उद्घाटन गरिएको छ । 

युवा तथा खेलकुद मन्त्री महेश्वर जङ्ग गहतराज, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र पोखरा महानगरका मेयर धनराज आचार्यले संयुक्त रूपमा रिवन काटेर सचिवालयको उद्घाटन गर्नुभएको हो ।

कार्यक्रममा बोल्दै मन्त्री गहतराजले नवौँ खेलकुदको सम्पूर्ण तयारीसहित कार्तिक पहिलो हप्तासम्म सचिवालय सञ्चालन हुने बताउनुभयो । 

कर्मचारी र खेलकुदकर्मीले आवश्यक समन्वय गरी नवौँ राष्ट्रिय खेलकुद सफल पार्न एक जुट हुन मन्त्री गहतराजले आग्रह गर्नुभयो । 

उक्त प्रतियोगिता जहाँ खेल हुन्छ त्यहीको निकायलाई समेत अपनत्व बहन गराउन पनि तीन तहका जिम्मेवारी व्यक्तिबाट उक्त सचिवालय उद्घाटन गरिएको मन्त्री गहतराजको भनाई थियो । 

३९ वर्षपछि गण्डकी प्रदेशमा आउँदो असोज २८ देखि कार्तिक ३ गतेसम्म सञ्चालन हुने नवौँ राष्ट्रिय खेलकुदलाई सफल पार्न प्रदेश सरकार तयार रहेको गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल बताउनुभयो । 

पोखराका मेयर धनराज आचार्यले स्थानीय  तहलाई सङ्घीय सरकारले सहकार्य गरेकोले आफ्नो क्षेत्रमा हुने उक्त इभेन्टलाई सफल पार्न आफूहरू कटिबद्ध भएको बताउनुभयो । 

प्रदेशको राजधानी पोखरा केन्द्रित हुने उक्त प्रतियोगिताका विभिन्न खेल मैदानको हकमा करिब तयारी अवस्थामा रहेको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बताउनुभयो ।

प्रकाशित मिति : ६ भाद्र २०७९, सोमबार  ७ : ४० बजे