पाथीभरा म्याराथन तथा पर्यटन महोत्सव हुने

फुङ्लिङ । ताप्लेजुङका  धार्मिक तथा पर्यटकीय स्थलको प्रचारप्रसार गर्ने उद्देश्यले पाथीभरा म्याराथन तथा पर्यटन महोत्सव आयोजना हुने भएको छ । 

आगामी असोज ११ देखि १३ गतेसम्म सो महोत्सव सञ्चालन हुने पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वद्र्धन समिति तथा महोत्सव सञ्चालन समितिले जनाएको छ । 

समितिका अध्यक्ष तारानाथ घिमिरेले नेपालकै प्रसिद्ध तीर्थस्थल पाथीभराको प्रचारप्रसार तथा पर्यटकीय प्रवर्द्धन गर्नका लागि महोत्सवको आयोजना गर्न लागिएको जानकारी दिनुभयो  । 

म्याराथन भने सदरमुकाम फुङ्लिङको तोक्मेडाँडाबाट सुरुआत भई काफ्लेपाटी पुगेर पुनः सदरमुकाम फुङलिङस्थित तोक्मेमा आएर पूरा हुने आयोजकले जनाएको छ । 

महोत्सवमा खुला म्याराथन तोक्मेबाट सुरु भई तीन हजार सात सय ९४ मिटर उचाइको पाथीभरा मन्दिरको टुप्पोमा पुगेर पुनः सदरमुकाम फुङलिङस्थित तोक्मेमा आएर पूरा हुने गरेको छ ।

कार्यक्रमको पहिलो दिन बिहान बजारमा कलश यात्रा गरिने छ  । 

साथै कृषि मेला प्रदर्शनी, औद्योगिक हस्तकला, खाद्य परिकार महोत्सव, पिलो फाइट (सिरानी बोकेर फाइट खेल्ने), हाडी फुटाइ, मेयर कप भलिबल प्रतियोगिता सुरु, लोक सांस्कृतिक कार्यक्रम गरिने उहाँले बताउनुभयो ।  

महोत्सवको अवसरमा पर्यटन प्रवर्द्धनसम्बन्धी अन्तर्क्रिया, खाद्य परिकार महोत्सव, कृषि मेला, प्याराग्लाइडिङ, रक क्लाइमिङ तथा साइक्लिनिङ, फुङफुङ्गे झरना अवलोकन, भाले झार्ने, पर्यटकीय क्षेत्र वृत्त चित्र प्रदर्शनीलगायतका कार्यक्रम आयोजना गरिने छन् । 

महोत्सवको मुख्य आकर्षक म्याराथन दौड तोक्मेदेखि पाथीभरा मन्दिरसम्म हुने छ । त्यस्तै महिला हाफ म्याराथन तोक्मेदेखि काफ्लेपाटीसम्म हुनेछ । महोत्सव सञ्चालनका लागि करिब रु ६५ लाख खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ ।

 

प्रकाशित मिति : ६ भाद्र २०७९, सोमबार  ७ : ३५ बजे