‘एउटै नाउरको सिकार गर्न २३ लाख’

स्व गिरी, साहित्य र समाजवाद

काठमाडौँ । दार्शनिक लेखक एवं विश्लेषक  प्रदीप गिरीको निधनले मुलुकलाई बौद्धिक क्षति पुगेको छ । घाँटीको क्यान्सरबाट पीडित कांग्रेस नेता गिरीको शनिबार मेडिसिटी अस्पतालमा निधन भएको हो ।

 “रचनामा मीठास भर्न खप्पिस झर्रोसाहित्यकार गिरी सालिन व्यक्तित्वका धनी हुनुहुन्थ्यो, सादा जीवन र उच्च विचारका रुपमा कहलिएका स्व गिरीको असमाहिक निधनले जुझारु पाठकलाई खल्लो बनाएको छ”, साहित्यकार ध्रवचन्द्र गौतमले भन्नुभयो । 

साहित्यकार गौतम स्व गिरीका सहपाठी हुनुहुन्थ्यो । गिरीलाई उहाँले एक असल मित्र, राजनीतिक चिन्तक, ठूला पाठक, बौद्धिक लेखक र निष्ठाका धनी, सादगी व्यक्तित्व रहेको बताउनुभयो । जनमत साहित्यक मासिक पत्रिकाका प्रधान सम्पादक तथा प्रकाशक मोहन दुवालले राजनीति विद्धानको सूचीमा स्व गिरी अग्रपङ्क्तिमा रहनुभएको जानकारी दिनुभयो ।

स्व गिरीले जनमत साहित्यक मासिक पत्रिकामार्फत साहित्यमा आफ्नो धारणा राख्दै, “कविता वा कलालाई पढ्न र बुझ्न खोज्नुभनेको आफूलाई खोतल्नु हो”, भन्नुभएको छ । साहित्यकार निलम कार्की ‘निहारीका’को कविता सङ्ग्रहको भूमिकामा उहाँले “साहित्य अनुशिलन मेरा निम्ति आफ्नै जीवनको एउटा अङ्ग हो”, भनी उल्लेख गर्नुभएको छ । 

उहाँले शारदा मासिक पत्रिकालगायतका दर्जनौँ साहित्यक पत्रिकामा आफ्ना साहित्यक लेख रचना प्रकाशन गर्नुभएको साहित्यकारले बताउनुभएको छ । वरिष्ठ पत्रकार एवं लेखक जगत नेपालले स्व गिरी राममनोहर लोहिया र गान्धीबाट प्रभावित रसिक, सालिन व्यक्तित्व, सत्यका पक्षमा  अडिक र निडर लेखक रहेको राससलाई बताउनुभयो । 

लेखक नेपालले गिरीको निधनले मुलुकले एक असल नेता, स्थापित लेखक  र कहलिएको  साहित्यकार गुमाएको बताउँदै उहाँको निधनपछि बीपी र बीपीको प्रजातान्त्रिक समाजवादप्रतिको धारणा राख्ने पछिल्लो पुस्तासमेतको अवसान भएको चर्चा गर्नुभयो । साहित्यकार विनोद दीक्षितका अनुसार स्व गिरी विशिष्ट राजनीतिक चिन्तन भएका पठनीय र सङ्ग्रहनीय साहित्य सिर्जना गर्नसक्ने उच्चकोटीका राजनीति विशलेषक तथा लेखक रहेको जानकारी दिनुभयो ।

साहित्यकार रोचक घिमिरेका नजरमा स्व गिरी नवीन खोज तथा अनुसन्धानमूलक लेख रचना पढ्न तथा रचना गर्न  रुचाउने निर्भिक व्यक्ति हुनुहुन्थ्यो । स्व गिरीले २०२८ सालमा बनारसबाट ‘अक्षर’ द्वैमासिक साहित्यक मासिक पत्रिका प्रकाशन गर्नुभएबाट पनि उहाँको साहित्यमा गहिरो अभिरुचि रहेको पुष्टि हुन्छ ।

पिता मित्रलाल गिरीको प्रेरणाले  राजनीतिमा संलग्न  प्रदीप गिरीका धेरै लेख रचना पढ्दै आएनुभएका पाठक वासुदेव ढुङ्गानाका अनुसार उहाँका राजनीति लेखमा सीमान्तकृत र पिछडिएका जनताको मर्मस्पर्शी चोटलाई साहित्यक रुपमा चित्रण गरिएको पाइन्छ ।

उहाँका थुप्रै लेख रचना दर्जनौँभन्दा बढी पत्रपत्रिकामा प्रकाशित भएको पाइन्छ । विशेष गरी उहाँले ‘विश्वेश्वरप्रसाद कोइराला, ‘राजनीति अभिलेख’, ‘विश्वेश्वरप्रसाद कोइराला प्रतिनिधि सङ्कलन’ ‘दौपदी देश’, ‘नेपाली कांग्रेस माओवादी र मधेश (२०६६)’ ‘डा राममोहन लोहिया’, ‘लेनिनको जीवनी’ ‘नारी’ ‘माक्र्सवाद’ तथा ‘अर्थशास्त्र’सम्बन्धी दर्जनभन्दा बढी कृति प्रकाशित भएका छन् । 

विसं २०१७ देखि सक्रिय राजनीति प्राररम्भ गर्नुभएका कांग्रेस नेता पाठकवर्गको बौद्धिक तिर्खा मेटाइदिन सक्ने समालोचक पनि हुनुहुन्थ्यो । उहाँले बिपी र मदनमणि दीक्षितका केही पुस्तकको समालोचनासमेत गर्नुभएको साहित्यकार रोचक घिमिरेले जानकारी दिनुभयो । 

विभिन्न सार्वजनिक समारोहमा कांग्रेस नेता गिरीले राजनीति र साहित्य जनताका लागि गर्नु र लेख्नुपर्छ भन्नुहुन्थ्यो । उहाँले झन्डै चार वर्ष जेल जीवन बिताउनुभएको छ । भारतको जवहारलाल नेहरु विश्वविधालयबाट अर्थशास्त्र र दर्शनशास्त्रका स्नातकोत्तर गिरी अध्ययनमा विशेष रुचि राख्ने प्रायः सबैले रुचाइएका नेता हुनुहुन्थ्यो ।  

गिरीले एक पटक एक सार्वजनिक कार्यक्रममा जबसम्म युवा गाउँमा अडिने वातावरण हुदैन तबसम्म वास्तविक समाजवाद नआउने चर्चा गर्नुभएको थियो । उक्त कुरा अहिले सावित हुँदै गएको छ ।

रासस

प्रकाशित मिति : ५ भाद्र २०७९, आइतबार  ३ : ३९ बजे