एमालेसँग मात्र देश बनाउने स्पष्ट दृष्टिकोण छ : अध्यक्ष ओली 

झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेसँग मात्र देश बनाउने स्पष्ट दृष्टिकोण रहेकाले आगामी निर्वाचनमा नारी शक्ति उठेर सबै खाले गठबन्धनलाई परास्त गर्नुपर्ने बताउनुभएको छ । 

अखिल नेपाल महिला सङ्घ झापाको नवौँ जिल्ला अधिवेशनको शनिवार उद्घाटन गर्दै अध्यक्ष ओलीले भन्नुभयो, “महिला दिदीबहिनीहरू विचारमा स्पष्ट हुनुहुन्छ, नेकपा (एमाले) मात्र स्पष्ट दृष्टिकोण बोकेको पार्टी हो ।”

उहाँले झापा जिल्ला राजनीतिक चेतनाको भूमि, शहीदहरूको भूमि भएकाले यो जिल्ला नेकपा एमालेका लागि मक्का मदिना जस्तै भएको बताउनुभयो ।अध्यक्ष ओलीले राजनीतिक चेतना फैलाउन भूमिका निर्वाह गरेको झापा जिल्लाले देश निर्माणको लागि पनि भूमिका निर्वाह गर्नुपर्ने भन्नुहुँदै महिलाहरूले यो सन्देश लिएर मतदाताको बीचमा जानुपर्ने बताउनुभयो । निरङ्कुश राजतन्त्र फाल्ने एमालेलाई गठबन्धनले केही पनि गर्न नसक्ने उहाँको भनाइ छ । 

उहाँले महिलाहरू दृढताका साथ पार्टीको एकताको पक्षमा उभिएका र अब पनि पार्टीको निर्णय र गन्तव्यको पक्षमा उभिनुपर्ने बताउनुभयो । “पार्टीलाई जोगाएर यहाँसम्म ल्याउने, पार्टी बचाउने काम महिला दिदीबहिनी र युवाले गरेका हुन्, मैले जिल्ला जिल्लामा हेरेँ, केन्द्रदेखि तलसम्म हेरेँ, पुरुषहरू धेरै लरबराए, महिलाहरू बहुत कम मात्रै लरबराए, दृढताका साथ पार्टीको पक्षमा उभिए” अध्यक्ष ओलीले भन्नुभयो ।

उहाँले सम्पूर्ण महिलालाई परिचालित गर्न र एमालेलाई जिताउने भूमिका अनेमसंघले निर्वाह गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो । अध्यक्ष ओलीले भन्नुभयो– “अहिलेको एक मात्र लक्ष्य मङ्सिर हुने निर्वाचनमा जित्ने हुनुपर्छ, झापा जिल्लाले देशभरिलाई दृष्टान्त दिने गरी भूमिका निर्वाह गर्नुपर्छ ।”

प्रकाशित मिति : ५ भाद्र २०७९, आइतबार  ७ : ३९ बजे