काँग्रेस नेता गिरीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिने, अन्त्येष्टि आजै

काठमाडौँ । नेपाली काँग्रेसका नेता, समाजवादी चिन्तक, पूर्व केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको अन्त्येष्टि आजै गरिने भएको छ । 

उपचारका क्रममा शनिवार राति नेपाल मेडिसिटी अस्पतालमा निधन भएका काँग्रेस नेता गिरीको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिन लागिएको हो ।

काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलका अनुसार नेता गिरीको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि बिहान ९ः०० बजेदेखि ११ बजेसम्म नेपाल मेडिसिटी अस्पतालको प्राङ्गणमा रहेको शिवालय मन्दिरमा राखिनेछ भने त्यसपछि बिहान ११ः३० देखि २ः०० बजेसम्म नेपाली काँग्रेस केन्द्रीय कार्यालय, बिपी स्मृति भवन, बिपी नगर, ललितपुर राखिनेछ ।

विगत लामो समय भारतको मुम्बइका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको उपचार गराएर नेपाल आउनासाथ निमोनिया देखिएपछि उहाँलाई साउन ९ गते ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना गरिएको थियो ।

पिता मित्रलाल गिरी र आमा पुण्यप्रभा गिरीका सुपुत्र प्रदीप गिरीको जन्म विसं २००४ मा सिराहाको बस्तीपुरमा भएको हो ।  

समाजवादी चिन्तक नेता गिरी नेपालको समकालीन राजनीतिका एक प्रखर विचारक हुनुहुन्थ्यो । 

नेता गिरी २०२१ सालको राजनीतिक परिवर्तनपछि राजनीतिमा सक्रिय हुनुभएको हो । हाल प्रतिनिधिसभा सदस्य रहनुभएका उहाँ २०२४ सालमा बनारसमा नेपाल छात्र सङ्घमा निर्वाचित हुनुभएको थियो । 

उहाँ विसं २०५१ को संसदीय निर्वाचनमा सिरहा ५ बाट निर्वाचित हुनुका साथै संविधान सभा सदस्य निर्वाचन २०६४ मा काँग्रेसको तर्फबाट समानुपातिक सभासद चयन भई संविधान निर्माणको जिम्मेवारीमा संलग्न हुनुभएको थियो । 

यसैगरी दोस्रो संविधानसभा सदस्य निर्वाचन २०७० मा पनि काँग्रेसको तर्फबाट समानुपातिक सभासद चयन हुनुभएको थियो । नेता गिरी प्रतिनिधि सभा सदस्य निर्वाचन २०७४ मा सिरहा १ बाट निर्वाचित हुनुभएको हो ।  

 

 

प्रकाशित मिति : ५ भाद्र २०७९, आइतबार  ७ : १९ बजे