स्यानिटरी प्याड आयातमा ९०% छूट दिइनुले देश माफियातन्त्रले चलाएको पुष्टि गर्छ : मन्त्री खापुङ

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी प्रसाद खापुङले स्यानिटरी प्याड आयातमा ९०% छूट दिइनुले देश माफियातन्त्र र भ्रष्टहरूको सञ्जालले चलाएको पुष्टि हुने बताएका छन् ।

स्यानिटरी प्याड जस्तो सम्वेदनशील वस्तुलाई स्वदेशमा नै अनुदान दिएर उद्योगहरू स्थापना गर्न प्रोत्साहन दिनुपर्नेमा बाहिरबाट आयात गर्न ९०% प्रतिशतसम्म छूट दिएकोमा दुःख व्यक्त गर्दै मन्त्री खापुङले त्यस्तो टिप्पणी गरेका हुन् ।

सहयोगी स्यानिटरी प्याड उद्योगको शनिबार उद्घाटन गर्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री खापुङले स्वास्थ्य मन्त्रालयमार्फत गरिने सहयोग गर्न सधैं आफू तत्पर रहेको प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

‘मुलुक माफियातन्त्र र भ्रष्टाचारको दलदलमा फसेको छ । स्यानिटरी प्याड जस्तो सम्वेदनशील वस्तुलाई स्वदेशमा नै अनुदान दिएर उद्योगहरू स्थापना गर्नुपर्ने समयमा बाहिरबाट आयात गर्न ९०% प्रतिशतसम्म छूट दिइनु देशको हितमा छैन,’ उद्घाटनपछि उनले भने ।

आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले स्यानिटरी प्याडमा ९० प्रतिशतसम्म भन्सार महशुल छुट गर्ने घोषणा गरेका थिए ।

कार्यक्रमका अन्य वक्ताहरूले स्वदेशी उत्पादनलाई प्रोत्सहान गर्नुपर्ने, वित्तीय संस्थाहरूले सहुलियत तथा अनुदानमा कर्जा उपलब्ध गराउनुपर्ने, कर छूट गराउनुपर्ने तथा जनचेतनामुलक कार्यक्रमहरूको आयोजना गर्नुपर्नेमा जोड दिएका छन् । उनीहरूले उद्योगलाई व्यावसायिक सफलताको शुभकामना समेत व्यक्त गरेका छन् ।

लामो समय इजराइल बसेर नेपाल फर्किएकी गोमा खनालले ‘सहयोगी स्यानिटरी प्याड उद्योग’ सञ्चालनमा ल्याएकी हुन् । आफ्नै देशमा उद्योग सञ्चालन गरी विदेशिन बाध्य नेपाली युवाहरुलाई रोजगार दिन सफल खनाल सामाजिक कार्यमा समेत उत्तिकै सक्रिय महिलाको रुपमा परिचित छिन् ।

उद्योगले उत्पादन गरेको ‘रोयल विङस’ नामक प्याड विक्रीवितरण समेत शुरू गरिसकिएको खनालले जानकारी दिएकी छिन् । पछिल्लो समय जनचेतना वृद्धिका कारण स्यानिटरी प्याडको प्रयोग गर्नेहरूको संख्या बढ्दै गएकाले प्याड उद्योग सञ्चालन गरिएको उनको भनाइ छ ।

प्रकाशित मिति : ४ भाद्र २०७९, शनिबार  ५ : ५९ बजे