पाटनको कृष्ण मन्दिरमा उल्लेख्य भक्तजन

​​​​​​​ललितपुर । पाटन मङ्गल बजार परिसरमा अवस्थित कृष्ण मन्दिरमा आज बिहानैदेखि भक्तजन भित्रिने क्रम जारी छ । 

आज भदौ कृष्ण अष्टमी अर्थात् ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व भएसँगै भगवान्को दर्शन तथा पूजा एवं आराधनाका लागि भक्तजन पाटन पुगेका छन् ।

गए राति १ बजेदेखि दर्शनार्थीको चहलपहल मन्दिरमा रहेको मन्दिरका रेखदेखकर्ता भुवनबहादुर चित्रकारले बताउनुभयो । उहाँले भन्नुभयो, “भक्तजन आउने क्रम जारी छ ।”

भगवान् कृष्णको दर्शनका लागि एक पटकमा तीस महिला र सोही सङ्ख्यामा पुरुषलाई प्रवेशको व्यवस्था गरिएको चित्रकारले जानकारी दिनुभयो ।

मध्यराति १२ बजे कृष्णको नित्य पूजा गरी मन्दिरको ढोका खोलेसँगै भक्तजनको प्रवेश गराइएको हो । 

मन्दिरका मूल पुजारी रुपन शर्मा राजोपाध्यायका अनुसार दर्शनार्थीले बिना झन्झट पूजाआजा गरिरहेका छन् । दर्शन गर्ने कार्य व्यवस्थित बनाउन स्वयंसेवक खटाइएको मङ्गल टोल सुधार सङ्घका अध्यक्ष किरणमान प्रधानले बताउनुभयो । 

कृष्ण मन्दिरभित्र मोबाइल तथा क्यामेरा लैजान निषेध गरिएको छ । कृष्ण भगवान्को उपासनामा दर्शनार्थीले भजन कीर्तन तथा नाचगानसमेत गरिरहेका छन् । महिला र पुरुषको छुट्टाछुट्टै लाइनको व्यवस्था गरिएको छ । रासस 

प्रकाशित मिति : ३ भाद्र २०७९, शुक्रबार  १० : ४६ बजे