तानसेनको टुँडिखेल स्तरोन्नति अन्तिम चरणमा

रामपुर । तानसेन नगरपालिकाको टुँडिखेल मैदान स्तरोन्नतिको कार्य अन्तिम चरणमा पुगेको छ । 

नगरपालिका कार्यालय प्राङ्गणमा रहेको टुँडिखेल मैदानको हालसम्म ८५ प्रतिशत काम सम्पन्न भएको छ ।

नगरपालिकाले आर्थिक वर्ष २०७६/७७ मा टुँडिखेल मैदान सुधारका लागि जय नेपाल ईश्वरचन्द्र निर्माण सेवा प्रालिले दुई वर्षभित्र काम सक्ने गरी रु तीन करोड ८२ लाख ९४ हजार बराबरको बोलपत्र आह्वान भएकामा ठेक्का सम्झौता गरी निर्माणको जिम्मेवारी लिएको हो । 

टुँडिखेलको खुला क्षेत्रलाई सुधार गरेर आकर्षक बनाउने योजनाअनुसार काम अन्तिम चरणमा पुगेको तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले बताउनुभयो । 

ढिलासुस्ती भइरहेको कामलाई निरन्तर निगरानी तथा खबरदारी गरेसँगै टुँडिखेलमा मर्निङवाकस्थल, फुटबल खेलमैदान र विश्राम स्थल बनिसकेको नगरप्रमुख श्रेष्ठ बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “दुई वर्ष अगाडि नै सक्नुपर्ने काममा निरन्तर ताकेता गरेपछि अहिले दुबो रोपण कार्य सकिने क्रममा  छ, यसले तानसेनको थप सुन्दरता थप्नेछ ।” 

विगतमा नेपाली सेनाको सहयोग र पाल्पा उद्योग वाणिज्य सङ्घको समन्वयमा टुँडिखेलमा घाँस रोपिएको थियो । अहिले यहाँ ७४ मिटर चौडाइ र एक सय नौ मिटर लम्बाइमा बर्मुडा दुबो रोपिएको छ । 

मैदानभित्र रोपिएको दुबो दुई महिनामा हरियो हुन्छ । त्यसलाई दुई पटक घाँस काटेपछि दुबो रोपेको कम्पनी तिलोत्तमा एग्रिकल्चर फार्मले निर्माण व्यवसायीलाई हस्तान्तरण गर्नेछ । कम्तीमा आठ पटक दुबोलाई मेसिनले काटेपछि टुँडिखेलमा खेल खेल्नका लागि तयार हुने बताइएको छ । 

आगामी फागुनदेखि खेलमैदान स्तरोन्नति भई पूर्ण रूपमा तयार हुने तानसेन नगरपालिका प्रवक्ता यादवसिंह कार्की बताउनुहुन्छ । 

विसं २०५० अघि यहाँ हुने गरेका राष्ट्रिय स्तरका फुटबल प्रतियोगिता वीरेन्द्र शिल्ड, राष्ट्रिय स्तरको भलिबल, इन्डो–नेपाल क्रिकेट, कराते प्रतियोगितालगायत पुनः सञ्चालन गरिनेछ । यहाँको टुँडिखेल मैदान स्तरोन्नति कार्यले खेल प्रेमीमा उत्साह जागेको छ ।

पाल्पा सदरमुकाम तानसेन भित्रने नाकामा नै रहेको यस मैदानमा ठुला–ठुला कार्यक्रम, सभा, समारोह हुने गरेका छन् । 

खेल मैदानको छेउमा रहेको पाल्पाली करुवाका कारण पनि यहाँ जानेको आकर्षण उत्तिकै छ । यहाँ रहेको करुवा अवलोकन गर्दै टुँडिखेल विश्राम गरेर बस्ने थलोका रूपमा पनि लिइन्छ । रासस

प्रकाशित मिति : ३ भाद्र २०७९, शुक्रबार  ९ : ५४ बजे