प्रधानमन्त्रीद्वारा श्रीकृष्ण जन्माष्टमीको शुभकामना

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको शुभकामना व्यक्त गर्नुभएको छ ।

उहाँले आज एक सन्देश जारी गर्दै यस पर्वले सम्पूर्ण नेपालीमा आपसी सद्भाव, भाइचारा र मैत्री भावना अभिवृद्धि गर्दै सुसंस्कृत समाज निर्माण गर्न प्रेरणा प्रदान गरोस् भनी कामना गर्नुभएको छ । 

कर्मयोगका प्रणेता श्रीकृष्णको पूजा अर्चना गरी श्रद्धा भक्तिपूर्वक यो पर्व मनाउने प्रचलन रही आएको छ । धार्मिक दृष्टिमा भगवान् श्रीकृष्णलाई असल प्रवृत्तिका साधक र भगवान् विष्णुका एक अवतार मानिन्छ ।

“गीतामा भगवान् श्रीकृष्णबाटै योग र दर्शनको विवेचना भई मानव जाति समक्ष उपलब्ध भएको पक्ष महत्त्वपूर्ण छ र यसलाई आजको दिनमा विशेष रूपले स्मरण गरिन्छ”, सन्देशमा भनिएको छ ।

समस्त हिन्दु धर्मावलम्बीका आराध्य देव भगवान् श्रीकृष्णको शिक्षा र सन्देश समस्त मानव समुदायका लागि अत्यन्त उपयोगी र सारगर्भित रहेको उहाँले उल्लेख गर्नुभएको छ । 

प्रकाशित मिति : ३ भाद्र २०७९, शुक्रबार  ७ : २३ बजे